डोटीमा ६ जना किसान सम्मानित

असार १६, २०८२

मोहन पनेरु

6 farmers honored in Doti

डोटी — डोटीमा धान दिवसको अवसरमा ६ जना किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र डोटीले आइतबार जिल्लाका ६ जनालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट जिल्लाका तीन जनालाई सम्मान गर्ने व्यवस्था भए पनि डोटीबाट यो वर्ष छ जनालाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । उनका अनुसार तीन जना किसानलाई नगद २५ हजार, दोसल्ला र प्रमाणपत्र सहित र तीन जनालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

नगदसहित सम्मानित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका–५ का जय बहादुर शाही, आदर्श गाउँपालिका–१ का मुकुन्द अवस्थी र जोरायल गाउँपालिका–१ गैराका सूर्य प्रकाश भट्ट रहेका छन् । त्यस्तै दिपायल सिलगढी नगरपालिका–३ बाँफीकी नेहा माझी, दिपायल सिलगढी नगरपालिका–७ का जगतबहादुर विष्ट र दिपायल सिलगढी नगरपालिका–९ का काँसी साउँद दोसल्ला र प्रमाणपत्रसहित सम्मानित भएका छन् । 

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारसम्बन्धी प्रकाशित सूचना अनुसार कृषि ज्ञान केन्द्र डोटी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्रमा आवेदन पेश भएका किसानहरूलाई छनोट गरी सम्मान गरिएको भेटेरिनरी अस्पतालका प्रमुख चन्द्रकान्त पन्तले बताए ।

उत्कृष्ट किसान छनोटको लागि आवेदन परेका किसानहरूको घरमै गएर अवलोकन गरेर छनोट गरिएको उनले बताए । सम्मान ग्रहण गर्दै ५० ओटा टनेलमा तरकारी खेती गरिरहेका किसान मुकुन्द अवस्थीले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।

मोहन

Link copied successfully