धनगढी — आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको प्रदेश सभामा आइतबारदेखि छलफल सुरु भएको छ । पहिलो दिनको छलफलमा भाग लिने सत्तापक्ष र विपक्षी दलका सांसदहरुले बजेटप्रति चर्को आलोचना गर्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले बजेट किनबेच भएको दाबी गर्दै छानबिन हुनुपर्नेमा जोड दिए ।
सत्तारुढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीसहित प्रतिपक्षी सांसदले बजेट किनबेच भएको दाबी गर्दै छानबिन हुनुपर्नेमा जोड दिएका हुन् । सरकारको नेतृत्वकर्ता कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, प्रमुख प्रतिपक्षी माओवादी सांसद मानबहादुर धामी, एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाहीलगायतले छानबिनको माग गरेका हुन् ।
माओवादीका सांसद धामीले बजेट किनबेच भएको आरोप लगाउँदै बजेट बिचौलियाको कब्जामा परेको दाबी गरे । उनले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखे । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० देखि ३५ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० प्रतिशत बजेट खरिदबिक्री भएको छ,’ धामीले भने ‘समिति बनाएर छानबिन गरौँ, प्रमाणित भएन भने सांसद पद त्याग्छु ।’
उनले एउटा संसदीय समिति बनाएर छानबिन गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । एकीकृत समाजवादीका प्रमुख सचेतक शाहीले बजेट किनबेच भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने बताए ।
‘कम्तीमा अर्को वर्ष त यस्तो बेथिति हुन नपाओस्,’ शाहीले भने, ‘जनताले तिरेको करमाथि पौडी खेल्ने छुट कसैलाई छैन ।’ बजेट विनियोजनमा कुनै मापदण्ड र आधार निर्धारण नगरिएको बताउँदै शाहीले बजेट निर्माणका क्रममा भएका अनियमित गतिविधिको छानबिन गर्न समिति बनाउनु पर्नेमा जोड दिए । एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापाले पनि बजेट विनियोजनप्रति आक्रोश व्यक्त गरिन् । उनले नेताहरूका मोलमोलाइमा योजना छनोट भएको बताइन् । निकै असन्तुष्टिका साथ उनले भनिन्, ‘जनताका योजना भएनन् ।’
माओवादी सांसद गीता मालले बजेट विनियोजनमा अनियमितता भएको भन्दै संसद् नाटक मञ्चन थलो भएको आरोप लगाइन् । उनले बजेटका सन्दर्भमा बजेटमाथिको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट विनियोजन गरी तीन वटा नाटकको मञ्चन हुने गरेको बताइन् ।
‘हामी सांसद त नाटकका फगत पात्र मात्र जस्तो लाग्छ,’ उनले भनिन्, ‘सरकारले प्रस्तुत गरेको बजेटमा एक शब्द पनि हेरफेर हुँदैन, गर्दैनन् भन्ने थाहा हुँदाहुँदै पनि हामी यसरी छलफल गरेर कर्म पूरा गरिरहेका हुन्छौँ ।’
कांग्रेस प्रमुख सचेतक धामीलेसमेत बजेट निर्माणमा ‘दलाल’ हाबी भएको भएको आरोप लगाए । ‘यो त अति भयो । प्रदेश गठनदेखि सुरु भएको यो विकृति अहिलेसम्म पनि हट्न सकेन,’ प्रमुख सचेतक धामीले भने, ‘अब प्रक्रियाभन्दा बाहिरबाट कसरी योजना र बजेट परे भनेर अध्ययन गर्नु पर्छ । अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकाय गुहार्नु परे गुहारौँ ।’
एमाले सांसद दमन भण्डारीले बजेटमा सांसदहरुको श्रेणी विभाजन गरिएको बताए । ‘आवश्यकतामा आधारित बजेट छैन । न्यायसंगत छैन । बिचौलियामैत्री छ,’ उनले भने । एमाले सांसद जानकी ऐर र कांग्रेस सांसद डम्मरी महराले पनि बजेटमाथि आफ्ना धारणा राखेका थिए ।
