धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रदेश सरकारको सबैभन्दा बढी बजेट मन्दिर तथा तटबन्ध निर्माणमा विनियोजन भएको बताएका छन् । उनले बजेट व्यवस्थापनमा आफू सन्तुष्ट नभएको पनि बताए ।
नेपाल टूर एण्ड ट्राभल एसोसिएसन (नाट्टा) सुदूरपश्चिमले शनिबार महेन्द्रनगरमा पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको 'टूर प्याकेज डेभलपमेण्ट’ तालिमको समापनका अवसरमा बोल्दै सचिव कोइरालाले प्रदेश सरकारको बजेटमा ९० प्रतिशत रकम तटबन्ध र मन्दिरमा परेको उल्लेख गरेका हुन् । 'यसबारे धेरै विरोध पनि गर्नु हुँदैन,’ उनले भने, 'बजेट व्यवस्थापनमा म सन्तुष्ट छैन ।’
कर्णाली प्रदेशबाट एक महिनाअघि मात्रै सरुवा भइ सुदूरपश्चिम पुगेका सचिव कोइरालाले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र स्पष्टरुपमा अघि आउनु पर्ने बताए । 'जहाँ सरकारले केही गर्न सकेको हुँदैन, त्यहाँ केही गर्नु पर्छ भन्ने भावनाअनुसार सरकार अघि बढनु पर्छ,’ उनले भने, 'पर्यटन व्यवसाय आर्थिक पूर्वाधारको विकास गर्ने आधार बन्नसक्नु पर्छ ।’
कार्यक्रमका धेरैजसो सहभागी्ले बोल्ने क्रममा सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन क्षेत्र विकासका लागि आवश्यक बजेट विनियोजन नगरेको आरोप लगाए ।
होमस्टे व्यवसाय महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष कैलालीका लक्ष्मीनारायण चौधरीले २०६७ देखि पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन हुन थाले पनि प्रदेशको सम्बन्धित मन्त्रालयले भने एक सुको पनि बजेट नछुट्याएको बताए । र, प्रत्येक वडामा मन्दिरका लागि बजेट जान्छ, तर पर्यटकीय क्षेत्रलाई जीविकोपार्जनसँग जोड्ने प्रयास भएन,’ उनले भने ।
उनले पर्यटन क्षेत्रलाई आर्थिक रुपमा जोड्न प्रदेश मन्त्रालयको बजेट अपर्याप्त भएको बताए ।
३ दिनसम्म सञ्चालन भएको तालिममा नाटा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना हुन लागेको जानकारी दिए । उनले सुदूरपश्चिममा पर्यटन पूर्वाधारको विकासका लागि सरकार र निजी क्षेत्रको संयुक्त पहल र लगानी आवश्यक रहेको बताए ।
नाटा सुदूरुपश्चिमका अध्यक्ष पवन बिक्रम सिंहले पनि पर्यटन क्षेत्र विकासमा प्रदेश सरकारबाट निकै कम बजेट विनियोजन हुने गरेको उल्लेख गरे ।
तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाका ४० जना पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।
