पश्चिम तराईमा धान रोपाइँ सुरु, कैलालीमा ४० प्रतिशत रोपाइँ सकियो

असार १३, २०८२

चित्रांग थापा

Paddy planting has started in West Terai, 40% planting has been completed in Kailali

धनगढी — पश्चिम तराईको अन्नको भण्डार मानिने कैलालीमा असार पहिलो सातादेखि नै धान रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ छिटो सुरु भए पनि केही दिनयता मनसुनी वर्षा भएपछि जिल्लाका सबै क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ । 

'यस वर्ष मनसुनी वर्षा विगतको भन्दा केही छिट्टै सुरु हुने पूर्वानुमानका कारण किसानले धानको ब्याड राखेका थिए,’ कृषि ज्ञान केन्द्र कैलालीका सहायक कृषि प्रसार अधिकृत मदनराज जैसीले भने, 'तर मौसम विभागको पूर्वानुमानअनुसार वर्षा सुरु भएर पनि रोकियो, त्यसैले जिल्लाको केही भेगमा छिटो र अन्य ठाउँमा केही ढिलो गरि रोपाइँ सुरु भएको हो ।’ उनका अनुसार कैलालीको दक्षिणपूर्वी भेगमा असार पहिलो सातादेखि नै रोपाइँ सुरु भएको हो । यतिबेला मनसुनी वर्षा सुरु भइसकेकाले जिल्लाको बाँकी भागमा समेत धमाधम रोपाइँ भइरहेको छ ।

हालका वर्षमा किसान पनि धानबाली लगाउने समय आउँदा मनसुनी वर्षा कहिले सुरु हुने हो भनेर मौसम पूर्वानुमानबारे जानकारी लिने गरेका छन् । मनसुन छिटो आउने सुरुको पूर्वानुमान अनुसार किसानहरुले धानको ब्याड राख्न सुरु गरेका थिए । तर सुरुमा खण्डवृष्टि मात्रै भएर वर्षा रोकिएपछि यो वर्ष रोपाइँमा कतै ढिलो र कतै चाँडो हुन गएको सहायक कृषि प्रसार अधिकृत जैसी बताउँछन् । 'रानी जमरा र कुलरिया नहरको साथै बोरिङको सिँचाइ सुविधा भएको जिल्लाको दक्षिणपूर्वी भेगमा पर्ने भजनी, टीकापुर, जोशीपुर, गौरीगंगा र घोडाघोडी क्षेत्रमा असार पहिलो सातादेखि नै रोपाइँ सुरु भयो भने बाँकी भागमा यतिवेला रोपाइ भइरहेको हो,’ जैसीले भने ।

सहायक कृषि प्रसार अधिकृत जैसीका अनुसार कैलालीमा हाल ४० प्रतिशत धान रोपाइँ सकिएको छ । असार पहिलो सातासम्म १ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको थियो । त्यो करिब २० प्रतिशत मात्र हो । हाल बढेर ४० प्रतिशत पुगेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार जिल्लामा ६८ हजार ५४१ हेक्टरमा धान खेती हुँदै छ । असार १५ पछि रोपाइँको गति बढ्ने सहायक कृषि प्रसार अधिकृत जैसीले बताए । 

कैलाली जिल्लामा ९८ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जुन जिल्लाको कुल क्षेत्रफलको २७ दशमलव ८ प्रतिशत हो । खेतीयोग्य जमिनमध्ये हाल २६ दशमलव ७ प्रतिशत अर्थात् ८६ हजार ४५० हेक्टरमा मात्र खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जसमध्ये नहर, बोरिङ र परम्परागत कुलोबाट ७० हजार ५०० हेक्टर सिँचित क्षेत्र रहेको छ ।

सरकारले धानखेतीको उत्पादकत्य बढाउन विशेष उत्पादन कार्यक्रम सञ्चालन गरेको सहायक कृषि प्रसार अधिकृत जैसी बताउँछन् । उनका अनुसार धानखेतीमा मसिनो धान र रैथाने धान तथा उन्नत बिउ उत्पादनमा किसानलाई लागतका आधारमा ५० प्रतिशत अनुदान उपलव्ध गराउने व्यवस्था रहेको छ ।

कैलालीमा हालका वर्षमा धान उत्पान बढ्दै गएकोछ । आव ०८०/८१ मा ३ लाख २४ हजार २८० मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादकत्व ४ दशमलव थियो । गत आव ०८१/८२ मा उत्पादन बढेर ३ लाख २५ हजार ५६९ मेट्रिक टन तथा उत्पादकत्व ४ दशमलव ७५ मेट्रिक टन प्रति हेक्टर हुन पुगेको कैलाली कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

कैलालीका ६० प्रतिशत किसानले सरजु –५२ धानको खेती गर्दै आएका छन । यसबाहेक १० प्रतिशतले नयाँ जातका बिउँ र कतिपय किसानले मन्सुली, हर्दिनाथ –६ मसिना धानको बिउ नै रुचाउने गरेका छन् । धानखेतीका आधुनिक औजार र उपकरण भित्रिने क्रम बढ्दो छ । रैथाने बिउ लोप हुँदै जानु, पशुपालन घटेर कम्पोष्ट मल प्रयोग घटेका कारण माटोको उर्वराशक्ति भने घट्दै गएको छ ।

चित्रांग थापा थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully