डडेलधुरामा जेब्रा क्रसिङ निर्माण सुरु

असार १२, २०८२

तर्कराज भट्ट

Construction of zebra crossing started at Dadeldhura

डडेलधुरा — डडेलधुराको मुख्य बजार क्षेत्र र आवागमन बढी हुने स्थानहरूमा बिहीबारदेखि जेब्रा क्रसिङ निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराको अगुवाइमा सुरु भएको अभियानअन्तर्गत प्रारम्भिक चरणमा बागबजार र बसपार्क क्षेत्रमा जेब्रा क्रसिङ बनाइएको हो । डडेलधुरामा पहिलो पटक जेब्राक्रसिङ बन्न लागेको हो ।

स्थानीय मनोज रावलले जेब्रा क्रसिङको स्थापना प्रति आभार व्यक्त गर्दै स्थानीय पैदल यात्रुहरूका लागि यो संरचना उपयोगी हुने विश्वास व्यक्त गरे । ‘हामीजस्ता दैनिक सडकपार गर्नुपर्ने सर्वसाधारणका लागि यो निकै सहयोगी छ । जिम्मेवार निकायलाई धन्यवाद छ,’ उनले भने।

अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंक क्षेत्रीले सबै पक्षको सहकार्यमा जेब्रा क्रसिङ राख्न सम्भव भएको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न यस्ता संरचनाहरू आवश्यक रहेको धारणा राखे । उनले प्रहरी र स्थानीयवासीबीचको समन्वयको परिणामस्वरूप अहिले यो काम सम्भव भएको बताए ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जेब्रा क्रसिङको माध्यमबाट ट्राफिक व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको बताए । उनले सवारीसाधन र पैदलयात्रुको चाप बढी हुने ठाउँमा यस्ता संरचना आवश्यक हुने भएकाले बजारक्षेत्रमा यो काम सुरु गरेको बताए । उनका अनुसार जेब्रा क्रसिङ बनाइएका ठाउँमा जनचेतनामूलक साइनबोर्डहरूसमेत राखिएको छ। पैदल यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राखेर विभिन्न स्थानमा सूचना बोर्डहरू राखिएको समेत उनले जानकारी दिए।

Construction of zebra crossing started at Dadeldhuraजिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) हर्कबहादुर साउदले जेब्रा क्रसिङको प्रयोगले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । डडेलधुरामा पनि जेब्रा क्रसिङ प्रयोगको संस्कार बसाल्न थालिएको र यसले दुर्घटनाको जोखिम कम गर्नुका साथै पैदल यात्रुलाई सहज हुने विश्वास लिएको उनले बताए । उनले भने ‘सडकपार गर्दा जेब्रा क्रसिङ प्रयोग गर्नु सबैको दायित्व हो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार तुफानडाँडा, कीर्तिपुर, पोखरा, स्याउले र भातकाँडा क्षेत्रमा समेत जेब्रा क्रसिङ बनाउने तयारी गरिएको छ । जेब्रा क्रसिङको अभावमा दुर्घटनाको जोखिम रहेको भन्दै यस अघि पटक-पटक आवाज उठ्दै आएको थियो।

जेब्रा क्रसिङ निर्माणसँगै डडेलधुरामा सडक सुरक्षाको क्षेत्रमा केही सकारात्मक परिवर्तनको संकेत देखिएको छ । तर, स्थायी प्रभावका लागि सम्बन्धित निकायबीचको सहकार्य र नागरिकहरूको सचेत सहभागिता आवश्यक हुने सरोकारवालाहरूको भनाइ छ ।

तर्कराज

Link copied successfully