पुनेपाटा-बाँसकाडा-जंगलघाट सडक खण्डको काम सुस्त, आवतजावतमा सकस

असार ९, २०८२

मेनुका ढुंगाना

Punepata-Banskada-Jangalghat road section work is slow, movement is smooth

अछाम — सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना चिसापानी–जंगलघाट–मंगलसेन सडक अन्तर्गत पुनेपाटा—बाँसकाडा—जंगलघाट क्षेत्रको काम समयमा नहुँदा वर्षाको समयमा आवतजावतमा कठिनाइ भएको छ। पूर्वाधार विकास कार्यालय अछामका अनुसार चिसापानी–मंगलसेन सडक अन्तर्गत अछामको गैरीटाँड– कमलबजार–बाँसकाँडा २३ किलोमिटर सडकको गत वर्ष सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गैरीटाँडमा शिलान्यास गरेका थिए।

सो क्षेत्रको कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । यो सडकको कैलाली क्षेत्रमा केही किलोमिटर कालोपत्र भएको छ । अछाम खण्डमा २३ किलोमिटर कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

बाँसकाँडा तुर्माखाद, जंगलघाटको स्तरोन्नतिका लागि बानियाँ निर्माण सेवा प्रालिले २०७७ जेठ ९ गते ९ करोड ४७ लाख ७८ हजारमा सम्झौता गरेको थियो । २०७८ असार ३ गते बाँसकाँडा—तुर्माखाँद, जंगलघाटसम्मको २५ किलोमिटर सडक स्तरोन्नतिको काम गर्ने सम्झौता भए पनि म्याद सकिएको ३ वर्षसम्म ७७ प्रतिशत काम मात्रै भएको छ । बाँकी काम सम्पन्न गर्नका लागि म्याद थपको प्रक्रियामा गएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर देवीप्रसाद ढुंगानाले बताए ।

सडक स्तरोन्नतिका लागि वर्षाको समयमा कटान गर्दा सडक हिलाम्मे बनेको र ठाउँ ठाउँमा अवरोध भइरहेको तुर्माखाँद गाउँपालिका—६ का अम्मर न्यौपानेले बताए । तुर्माखाँद गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको सडक नै वर्षाको समय अगावै हिलाम्मे बन्ने र अवरोध हुन थालेपछि स्थानीयलाई सास्ती भएको उनले बताए ।

‘वर्षाको समयमा मुख्य सडक अवरुद्ध बनेपछि आवातजावातमा समस्या भएको छ । बिरामी, गर्भवती र बालबालिकालाई यो सडकबाट हिँडडुल गर्न पनि समस्या भएको छ,’ उनले भने,‘एक वर्षमा काम गर्ने सम्झौता ठेकेदारसँग भएको भन्ने छ । तर ४ वर्ष बितिसक्दा पनि सडक उस्तै अवस्थामा छ । गाउँपालिकाले पनि के भएको हो भन्ने खोज्न जरुरी छ ।’

उसो त चिसापानी–जंगलघाट–मंगलसेन सडकको अवधारणा आएकै ५७ वर्ष भएको छ । तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्‍याएका थिए ।

गाउँ गाउँमा बाजागाजा सहित खुसीयाली मनाउँदै र काँधमा गाडी बोक्दै, श्रमदान गर्दै मंगलसेनमा झन्डै ५७ वर्षअघि जिप पुर्‍याइएको भए पनि सडकको स्तरोन्नतिको काम सुरु भने करिब ४ वर्ष अगाडिबाट मात्रै भएको हो । चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा १ सय १० किलोमिटर सडक छ । जसमा सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा यस सडक खण्डलाई समावेश गरेर केही भागमा कालोपत्र पनि सुरु गरेको छ ।

Punepata-Banskada-Jangalghat road section work is slow, movement is smooth

कैलालीसँग छोटो दूरीमा जोड्नका लागि काम सुरु भए पनि समयमा सम्पन्न हुनेमा भने स्थानीय आशावादी छैनन् । ‘यही सडकबाट गाडी बोकेर ल्याउनेबेलादेखि अहिलेसम्म यो सडकको चर्चा सुनेकै छु । तर प्रगति देखिँदैन,’ तुर्माखाँद गाउँपालिका—४ का ६५ वर्षीय पूर्णबहादुर बयक भन्छन्,‘४ वर्षदेखि सडक बनाउने भनेर काम गर्न आएका पनि देखिरहन्छौँ । तर झन् हिलाम्य भएको छ । गाडी चल्न मुस्किल भइसक्यो । धेरै गाह्रो भएको छ ।’

कर्णाली नदीको तीरै तीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो राजमार्ग बन्न नसक्दा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ ।

चिसापानी–मंगलसेन सडक निर्माण हुन सके यो दूरी २ सय किलोमिटरले छोटिन्छ । कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामका लागि यो सडक महत्त्वपूर्ण छ ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully