डोटी — डोटीका नौवटै पालिका पूर्णखोप सुनिश्चित घोषणा भएका छन् । सबै तहले बालबालिकालाई लक्षित गर्दै पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।
जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आर्दश गाउँपालिका, सायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, बड्डीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र के आई सिंह गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
स्थानीय तहहरुले ‘खोज र खोप’ अभियान सञ्चालन गरी १६ देखि ५९ महिनासम्मका बालबालिकालाई छुटेका सबै खोप प्रदान गरेको जनाएको छ । प्रमुख मलासीका अनुसार ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहितको अभियान सफल भएपछि पालिकाहरुलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
जनप्रतिनिधहरु, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सरोकारवालाहरूले खोप सुनिश्चितताको निरन्तरतामा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । जिल्लालाई पनि अब पूर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी भइरहेको प्रमुख मलासीले बताए ।
