महाकालीमा गाइडबण्ड निर्माणमा खटिएका नेपाली सेनाको गाडी पल्टिँदा ५ जना घाइते 

असार ६, २०८२

भवानी भट्ट

5 people were injured when a Nepali army vehicle engaged in the construction of a guide bond overturned in Mahakali

कञ्चनपुर — महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा ५ जना घाइते भएका छन् । 

शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।

‘सबैको अवस्था सामान्य छ, उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ,’ नेपाली सेनाको इन्जिनियर विभागका इन्जिनियर प्रमुख सेनानी निशान्त पण्डितले भने, ‘हाम्रै जवानहरु बोकेको गाडी पल्टिएको हो ।’

महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुन: निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ । उक्त क्षेत्रलाई विपदका हिसाबले संकटग्रस्त घोषणा गरेर सेनामार्फत काम भइरहेको हो । 

अहिले गाइडबण्डको पुनर्निर्माणसँगै महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम पनि भइरहेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully