धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट आइतबार अपराह्न ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने समय तालिका निर्धारण गरिएकोमा तयारी पूरा नभएपछि दुई घण्टाका लागि पछाडि धकेलिएको छ ।
बजेटको आकार र योजना समावेशलाई लिएर सत्तारुढ कांग्रेस र एमाले मन्त्रीहरूबीच शनिबार रातिदेखि असमझदारी उत्पन्न भएको छ । बजेट तयारी पूरा नभएकै कारण मुख्यमन्त्रीको अनुरोधमा प्रदेश सभा सचिवालयले साँझ ७ बजे बैठक बस्ने सूचना प्रदेशसभा सदस्यहरूलाई पठाएको छ ।
शनिबार रातभर र आइतबार बिहानसम्म पनि मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच बजेट रकम खिचातानी चलेको स्रोतले बताएको छ । त्यही कारण आइतबार मध्याह्नसम्म पनि आर्थिक मामिला मन्त्रालयले बजेट तयारीको काम पूरा गर्न सकेन ।
प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट सिलिङ निर्धारण गरे भए पनि खिचातानीपछि ३१ अर्ब ४७ करोडको बजेट आउन लागेको आर्थिक मामिला मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरकारले यसअघि २९ देखि ३० अर्बको बीचमा बजेट आउने बताएको थियो ।
बजेटकै खिचातानीमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच शनिबार राति मनमुटावसमेत उत्पन्न भएको सत्तारुढ दल कांग्रेसका एक सांसदले बताए । ती सांसदका अनुसार सबैभन्दा धेरै बजेट हुने भौतिक पूर्वाधार विकासमन्त्री पालले आफ्नो मन्त्रालयलाई बजेट रकम कम भएको भन्दै योजनाको प्रविष्ट गर्न नै ढिलाइ गरेका थिए ।
प्रदेश नीति तथा योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ७ अर्ब ५५ करोडको सिलिङ दिएको थियो । तर बजेट अपुग हुने भन्दै मन्त्रालय र मातहतका कुनै पनि कार्यालयले काम नै अघि नबढाएपछि आर्थिक मामिलाले ७० करोड थपेको थियो । त्यतिले पनि नपुग्ने भन्दै मन्त्री पालले अडान लिएपछि शनिबार राति केही रकम थप गरिएको मन्त्रालय निकट एक स्रोतले बताएको छ ।
त्यसै क्रममा मुख्यमन्त्रीसहित तीन जनाबीच खटपट भएको थियो । पाल एमालेबाट प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री हुन् भने आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा र मुख्यमन्त्री कांग्रेसका हुन् ।
