धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आइतबार अपराह्न ५ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै छ । तर आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच बजेट रकम खिचातानीका कारण अहिले मध्याह्नसम्म पनि बजेटले अन्तिम रुप लिन सकेको छैन ।
आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार सबैभन्दा धेरै बजेट हुने भौतिक पूर्वाधार विकासमन्त्रालयका मन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो मन्त्रालयलाई बजेट सिलिङ अपुग भएकाले बढाउन भन्दै शनिबार रातिसम्म मुख्यमन्त्री कमलबहादुर शाह र आर्थिक मामिलामन्त्री बहादुरसिंह थापासँग लबिङ गरेका थिए । त्यही कारण आइतबार बिहानसम्म भौतिक मन्त्रालयले बजेट तयार गरी आर्थिक मामिलालाई पठाएको थिएन ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले ढिलाइ गरेका कारण समग्र बजेट निर्माण कार्य सर्दै गएको आर्थिक मामिला मन्त्रालय स्रोतले बतायो ।
आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले भने बजेटको काम लगभग पूरा भएको र बाँकी काम सकिने चरणमा रहेको बताए ।
प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । चालु आर्थिक वर्षको लागि ३१ अर्ब ५४ करेडको बजेट ल्याएको थियो ।
