कञ्चनपुर — दर्जनौँ एक्स्काभेटर र टिपरसँगै खटिएका छन् नेपाली सेनाका सयौँ जवान । यतिबेला महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुलमा उपकरण र मानिसको निकै व्यस्तता देखिन्छ । दिनमा मात्रै होइन राति ९/१० बजेसम्मै यो व्यस्तता रहन्छ ।
महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड निर्माण र नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम तीव्र गतिमा भइरहेको छ ।
उक्त काम नेपाली सेनाले गरिरहेको छ ।
मन्त्रिपरिषद्बाट जेठ ६ गते गाइडबन्ड भत्केको क्षेत्रलाई संकटग्रस्त घोषणा गरी सेनामार्फत् काम गराउने निर्णय भएको थियो । सोही निर्णय अनुसार जेठ दोस्रो सातादेखि सेनाले काम सुरु गरेको हो । त्यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले पनि गाइडबन्ड भत्केको क्षेत्रमा पर्ने भीमदत्त नगरपालिकाका तीन वटा वडालाई संकटग्रस्त घोषणाका लागि सिफारिस गरेको थियो ।
‘अहिले गाइडबन्डको भरानको काम ९० प्रतिशत सकिएको छ,’ नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख सेनानी इन्जिनियर निशान्त पण्डितले भने, ‘अब कटान रोकथामको काम सुरु गरिरहेका छौँ ।’ उनका अनुसार कटान रोकथामका लागि जिओ ब्यागमा ढुंगा भरेर तारजालीमा भरान गरिनेछ । उक्त कार्य पनि सुरु भइसकेको छ ।
‘अबको दश दिनभित्र कटान रोकथामको काम सक्ने लक्ष्य छ, मौसमले साथ दिएमा सकिन्छ पनि,’ पण्डितले भने, ‘अहिले पनि बेला बेलामा नदीमा जलस्तर बढ्दा काम गर्न समस्या भइरहेको छ, फेरि शारदा ब्यारेजका ढोका अचानक खोलिँदा पनि केही समस्या भइरहेको छ ।’ उनले नदीमा जलस्तर बढ्दै गएमा काम गर्न समस्या हुने बताए ।
उपकरण र सेनाले बिहानदेखि राति ९/१० बजेसम्मै काम गरिरहेका छन् । नदी किनारमै बत्तीको व्यवस्था गरेर काम भइरहेको छ । वर्षा सुरु भएपछि काम गर्न गाह्रो हुने भएकाले त्यसअगावै सक्ने लक्ष्यका साथ रातदिन काम भइरहेको पण्डित बताउँछन् ।
महाकाली नदीको बहावलाई बीच भागमा बगाउनका लागि च्यानलाइजेसनको काम पनि धुभधामका साथ भइरहेको छ । यसका लागि पनि दर्जनौँ एक्स्काभेटर र टिपर प्रयोग भइरहेको छ । प्रमुख सेनानी पण्डितका अनुसार च्यानलाइजेसनको काम २ सय मिटर चौडाइ र २६ सय मिटर लम्बाइमा गर्नुपर्नेछ । ‘अब नदीनाला बन्द भएपछि गाडीहरू थप उपलब्ध हुने आशामा छौँ, त्यसपछि कामको गति अझ बढेनछ,’ पण्डितले भने, ‘अहिले एक्स्काभेटर तथा टिपरहरू उपलब्ध नभएका कारण थोरै मात्रै प्रयोग भइरहेका छन् ।’ उनका अनुसार अहिले १ सय ३० बढी एक्स्काभेटर र टिपरहरू प्रयोग भइरहेका छन् । यसैगरी ६ सय बढी सेनाका जवान समेत काममा खटिएका छन् ।
नदी च्यानलाइजेसनको काम ५० मिटर चौडाइ र करिब १७ सय मिटर लम्बाइमा सकिएको छ । उपकरणहरू बढेमा कामको गति पनि बढ्नेछ । च्यानलाइजेसका लागि अलिकति पानीको बहाव बढेपनि फरक नपर्ने पण्डित बताउँछन् । उनका अनुसार असार मसान्त सममै भएपनि काम चलिरहने छ ।
गाइडबन्डको काम पनि नदीमा जलस्तर बढेमा घटेका बेला निरन्तर चलिरहने पण्डितले बताए । उनका अनुसार ठूलो बाढी आएर भत्किहालेमा पनि तत्कालै मर्मतको काम गरिनेछ । महाकाली नदीमा निर्मित पुलको लम्बाई ८ सय मिटर छ । उक्त क्षेत्रमा नदीको चौडाइ करिब २ किलोमिटर छ । पुलको दुवैतर्फ ६/६ सय मिटर चौडाइ र २८/२८ सय मिटर लम्बाइका पोखरी निर्माण भइरहेका छन् ।
तिनै गाइडबन्डमध्ये भीमदत्त नगरपालिकातर्फको गाइडबन्ड गत वर्षको बाढीले भत्काएको हो । सुरुमा गाइडबन्ड ठूलो ढुंगाले निर्माण गर्नुपर्ने डिजाइन थियो । तर निर्माण कम्पनीले ठूलो ढुंगा नपाएपछि उक्त डिजाइन परिवर्तन गरी तारजालीमा ढुंगा भरान र कंक्रटको निर्माण गर्नुपर्ने भयो । उक्त डिजाइन स्वीकृत भए पनि भेरिएसन भएको थिएन । गाइडबन्ड भत्काएको एक वर्षसम्म पनि भेरिएसन नभएका कारण मर्मतको काम हुन सकेको थिएन । त्यही भएर उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरी सेनामार्फत काम भइरहेको हो ।
