अछाम — अछामबाट दैलेखमा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदी माथिको झोलुंगे पुलको फलामे लठ्ठा चुडिँदा पुल नै जोखिममा परेको एक वर्ष बित्यो । २०८१ जेठ २७ मा अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा भारीसहितका १४ वटा खच्चडको भार थेग्न नसकेर झोलुंगे पुल लठ्ठा चुँडिएर कोल्टे परेको थियो ।
पुल कोल्टे फर्केर खच्चड अड्किएको समयमा र त्यसपछि गरी स्थानीय प्रशासनले पुल प्रयोगमा रोक लगाएको थियो । काँडेतार बेरेर पुलबाट आवतजावत नगर्न भनेर प्रशासनले कडाइ गरेपनि स्थानीयले उक्त तारबार निकालिदिए । लठ्ठा चुँडिएर कोल्टे फर्किएको पुलमा अछाम र दैलेखका स्थानीय एक वर्षदेखि जोखिम मोलेर यात्रा गरिरहेका छन् । त्यतिबेला जीर्ण झोलुंगे पुलमा करिब ८ घन्टाभन्दा बढी समयसम्म खच्चड फसेपछि सडकदेखि सदनसम्म चर्चा भएपनि घटनाको एक वर्षसम्म समस्या उस्तै छ ।
लठ्ठा चुँडिएर कोल्टे फेरिएको पुलभन्दा करिब ३ सय मिटर तल पहिलेदेखि नै नयाँ पुल बनिरहेको थियो । उक्त पुल स्थानीय एक बस्तीलाई लक्षित गरेर बनाएको थियो । सरकारका विभिन्न निकायबाट भएका अनुगमनले नजिकै अर्को पुल भएकाले उक्त पुल बनाउन आवश्यक नरहेको प्रतिवेदन तयार पार्यो ।
उक्त प्रतिवेदनसँगै झुलंगे पुल बनाउने या मर्मत गर्ने भन्ने विषय बन्द भयो । तर केही सामाजिक रितिरिवाज, अन्धविश्वासलगायतका कारण महिनावारी भएका र गर्भवतीले उक्त पुल तर्न नमिल्ने सामाजिक कारण भने प्रतिवेदनले औंल्याएन । जसको प्रभाव अहिले पनि परिरहेको छ ।
पञ्चदेवल विनायक नगरपालिका–९ का अध्यक्ष रामप्रसाद जैसीका अनुसार नयाँ निर्माण भएको पुलको अछाम र दैलेख गरी दुवैतिर नैनेल देवताको मन्दिर भएकाले उक्त स्थानमा पुल नबनाउन स्थानीयले पहिले नै आग्रह गरेका थिए । धार्मिक आस्थासँग जोडिएकाले गर्भवती र महिनावारी भएकाहरु जान नसक्ने भन्दै १० मिटर तल पुल बनाउन स्थानीयले पहिले नै माग गरेको उनले बताए । दैलेख र अछामको ठूलो देवताको रुपमा मानिने नैनेल देवतालाई कर्णाली नतिर तारेर लैजाने क्रममा ठिटुवा (धागो)को रसी बनाएर सजिलै तार्न सकेकोमा सोहीको सम्मान स्वरुप त्यस ठाउँको दुवैतिर मन्दिर बनाएको इतिहास रहेको उनले बताए ।
‘कच्चा धागोको पुल बनाएर सजिलै देवता तार्न दैवीशक्तिकै कारण मात्र सम्भव भएको भन्ने विश्वास गरिन्छ । यति ठूलो विश्वास गरिएको देवताको मन्दिर भएको ठाउँमा महिनावारी र गर्भवती महिलाहरु आफैं पनि जान डराउँछन् । यहाँ जेठ पूर्णीमामा ठूलो पर्व हुन्छ,’ उनले भने, ‘नैनेल देवताका धामी र स्थानीयले मन्दिर भएको ठाउँमा पुल बनाउन नमिल्ने भन्दै अहिलेसम्म पनि विवाद भइरहेको छ । गर्भवती र महिनावारी भएकाहरु जान नसक्ने भएपछि देवताका धामीले मन्दिरभन्दा तल बनाउनु पर्ने माग गरेका थिए ।’
कर्णाली प्रदेशको भौतिक विकास मन्त्रालयबाट ३ वर्षअघि निर्माण सुरु भएको पुलको सर्भेका लागि प्राविधिक कर्मचारीले मन्दिर नै भएको ठाउँलाई छनोट गरेको र स्थानीयको कुरा नसुनेर प्राविधिकले जबर्जस्ती पुल बनाएको उनले बताए । नयाँ बनाइएको पुलको दुवैतिर यो क्षेत्रकै ठूलो देवताको मन्दिर भएकाले महिनावारी र गर्भवती महिलाहरु यो पुल तर्दैनन् । अहिले पनि लठ्ठा चुँडिएको पुलबाट आवतजावत गरिरहेको दैलेखको आठबीस नगरपालिका–६ की १५ वर्षीया कवितासिंह ठकुरीले बताइन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्तडास्थित चण्डिका माध्यमिक विद्यालयबाट उनले एसईई दिएकी हुन् । गत असारयता उनी झन्डै महिना ६ दिन कक्षामा अनुपस्थित भइन् ।
‘नयाँ बनेको पुलमा महिनावारीको समयमा जान मिल्दैन । पुरानो पुल कोल्टे फर्किएको छ । मलाई त्यो पुलबाट जान डर लाग्यो । बरु स्कुल ६ दिन छोड्न सहज भयो,’ उनले भनिन्, ‘तनाव नै तनावकाबीच १० कक्षा सके । धेरै पढाइ छुटेको थियो । त्यही कारणले एसईई पनि त्यति राम्रो भएको छैन ।’ अहिले पनि दैलेखतिरबाट पढ्न जाने करिब सयभन्दा बढी विद्यार्थीको प्रभावित भएको उनले बताइन् । उनका अनुसार लठ्ठा चुँडिएको पुलबाट जान डर मान्ने धेरै टात्राले महिनामा ६ दिन विद्यालय छोड्ने गरेका छन् ।
पछिल्लो समय छात्रा अनियमित हुने क्रम बढेको चण्डिका माविका शिक्षक जनक न्यौपानेले बताए । ‘केही छात्रा जोखिम मोलेर विद्यालय आउने गर्छन् । अधिकांश छात्रा महिनावारीको १० दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्, हरेक महिना १० दिन पढाइ छुट्नु भनेको सामान्य होइन,’ उनले भने, ‘पहिले राम्रो पढाइ भएका छात्रा अहिले कमजोर हुँदै गएका छन् ।’
अछामतर्फ रहेको उक्त विद्यालयमा कक्षा ८, ९, १० दैलेखका विद्यार्थीका कारण मात्र चल्न सम्भव भएको पनि उनले बताए । शिक्षक न्यौपानेले मन्दिर भएकै पुलबाट आउन सुझाव दिदा पनि छात्रा मनमा डर पैदा गरिएका कारण नआउने गरेको बताए ।
