कैलाली — कैलालीमा प्रहरीले गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपमा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरू मिलन चन्द र रिदम ढुंगाना हुन् । उनीहरू खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा फरार थिए ।
प्रहरीका अनुसार उनीहरूलाई आजै कैलारी गाउँपालिका-२ बाट पक्राउ गरिएको थियो । तर, भजनी नगरपालिका–७ स्थित क्षेत्रमा ल्याइँदै गर्दा पिसाब फेर्ने बहानामा भाग्न खोजेपछि प्रहरीलाई बल प्रयोग गर्नुपरेको हो ।
'पहिला हवाई फायर गरेर रोक्न खोजियो, तर उनीहरू भाग्न सफल भए । त्यसपछि घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको हो,' प्रवक्ता सिंहले जानकारी दिए । दुवैजनालाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
