डोटीमा चितुवाको आक्रमणबाट चार जना घाइते

जेष्ठ २६, २०८२

मोहन पनेरु

Four people injured in a leopard attack in Doti

डोटी — डोटीको सायल गाउँपालिका–६, रोकाया बाडामा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । आइतबार साँझ करिब साढे ४ बजेको समयमा गाउँमा पसेको चितुवाको आक्रमणबाट चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चितुवाको आक्रमणबाट ३० वर्षीया पशुपति कटुवाल, ५० वर्षीय खड्क रोकाया, ४५ वर्षीय कलु रोकाया र १३ वर्षीया सिर्जना रोकाया घाइते भएका छन् । घाइतेमध्ये पशुपति कटुवाल र खड्का रोकायाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणमा परेर केही चौपायासमेत घाइते भएका छन् । स्थानीय कलावती रोकायाको एक गोरु र एक गाई घाइते भएका छन् भने प्रेम रोकायाको एक गोरु घाइते भएको छ । यस्तै, प्रेम कटुवालका दुई वटा बाख्रा हराइ बेपत्ता भएका छन् ।

स्थानीयका अनुसार चौपाया चराइरहेका बेला चितुवा अचानक बस्ती नजिकको जंगलबाट निस्किएर चौपायामाथि आक्रमण गरेको थियो । त्यसपछि बस्तीभित्र पसेको चितुवाले मानिसमाथि पनि आक्रमण गरेको हो । चितुवाको आक्रमणबाट थप मानवीय क्षति हुन सक्ने देखिएपछि स्थानीयवासीले आफ्नो सुरक्षार्थ ढुंगा, लाठी र मुढा प्रयोग गरी चितुवालाई भगाउने प्रयास गरेका थिए । यसैक्रममा चितुवा मारिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन पनेरु

Link copied successfully