बाजुराका अग्नीपीडितलाई प्रदेश सरकारले ४० लाख सहयोग गर्ने 

जेष्ठ २५, २०८२

अर्जुन शाह

The state government will support the fire victims of Bajura with 40 lakhs

धनगढी — बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकद्वारा उक्त निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । सहयोग रकम बुढीगंगा नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । 

‘मानवीय सहायता स्वरूप पालिकालाई उपलब्ध गराइएको रकम पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई उपलब्ध गराउनु पर्ने छ,’ मुख्यमन्त्री शाहले भने ।

बाम्का बजारमा रहेको नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ३५ वटा पसल टहरा जलेर नष्ट भएको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले बताए । उनका अनुसार करिब २० करोड मूल्य बराबरको धनमाल क्षति भएको छ । प्रदेश सरकारले १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपालसमेत जनाएको छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully