शुक्लाफाँटामा बर्सेनि घट्दै खर मजूर

जेष्ठ २५, २०८२

भवानी भट्ट

In Shuklaphanta, the labor force is decreasing every year

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खर मजूरको संख्या बर्सेनि घट्दै गएको छ । निकै कम संख्यामा रहेको खर मजूर हरेक वर्ष घट्दै गएको पाइएको हो । यस वर्ष वैशाख ९ देखि १६ गतेसम्म शुक्लाफाँटाको घाँसे मैदानमा गरिएको गणना अनुसार यहाँ ३ भाले र १ पोथी गरी ४ वटा मात्रै भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष ३ भाले र २ पोथी सहित ५ वटा भेटिएका थिए ।

निकुञ्जको घाँसे मैदानमा भेन्टेज र स्वीप विधिबाट गरिएको गणनामा ४ वटा खर मजूर भेटिएको संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए । एउटा भालेसँग एउटा पोथी समेत हुने भएकाले खर मजूरको संख्या अझ बढी हुन सक्ने अनुमान गर्न सकिने गणनामा खटिएकाहरू बताउँछन् ।

प्रजनन अवधिमा खर मजूरको भाले र पोथी प्रायः सँगै बस्ने गर्छन् । मार्चदेखि मे महिना यसको प्रजनन समय मानिन्छ । यतिबेला भालेले पोथीलाई आकर्षित गर्न (डिस्प्ले) उफ्रिँदै नाच्ने गर्छ । त्यतिबेला सहजै देखिने भएकाले यही अवधिमा गणना गर्न सजिलो हुन्छ । त्यही भएर गणना गरिँदै आएको पनि छ । ‘प्रजनन अवधिमा खर मजूरको भाले र पोथी सँगसँगै हुन्छन्, गणनामा नदेखिए पनि भालेसँगै पोथी पनि हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘भाले भेटिएकै अनुपातमा पोथी पनि हुन सक्छन् ।’

सुरुमा घाँसे मैदानमाा खर मजूर पाइने सम्भावित स्थानको पहिचान गरिन्छ । यसलाई भेन्टेज पोइन्ट भनिन्छ । त्यही आधारमा हरेक पोइन्टमा केही प्राविधिक जम्मा भएर बिहान र साँझको समयमा कम्तीमा चार/पाँच घण्टा एकै ठाउँमा रहेर हेर्ने गरिन्छ ।

भेन्टेज विधिबाट मात्रै सबै क्षेत्रमा भएका खर मजूर नदेखिने भएकाले पछिल्लो समय स्वीप विधि पनि अपनाउने गरिएको छ । यो विधि अनुसार ४०/५० मिटरको दूरीमा घाँसे मैदानभरि लहरै गणकहरू उभिन्छन् । त्यसपछि सबैले एक अर्काले समातिएको डोरी घिसार्दै अगाडि बढ्छन् । यसरी घाँसभित्र लुकेको अवस्थामा समेत खर मजूर बाहिर आउने र देखिने सम्भावना बढी हुन्छ । त्यही भएर पछिल्ला केही वर्षदेखि शुक्लाफाँटामा यही विधिबाट गणना गरिँदै आएको हो । 

यस वर्ष वैशाख ९ देखि १६ गतेसम्म गरिएको खर मजूरको खणनामा नेपाल पंछी संरक्षण संघ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गरी १९ जना प्राविधिक खटिएका थिए । निकुञ्जका विशाल शुक्लाफाँटा घाँसे मैदानलाई ६ वटा ब्लकमा विभाजन गरेर गणना गरिएको थियो ।

‘भेन्टेज विधिमा गणकहरू एकै स्थानमा उभिएर अवलोकन गर्ने मात्रै हुन्छ,’ वाग्लेले भने, ‘स्वीप विधिमा भने निश्चित दूरीमा डोरी घिसार्दै अघि बढ्नुपर्छ ।’ खर मजूर प्रायः बिहान र साँझको समयमा बढी देखिन्छ । त्यही भएर गणकहरू पनि यही बेला बढी खटिनुपर्छ । 

शुक्लाफाँटामा सन् २०१३ देखि खर मजूरको गणना सुरु भएको हो । त्यतिबेला यहाँ ७ वटा भेटिएका थिए । त्यसयता नियमित रूपमा गणना हुँदै आएको छ । वासस्थानको उचित व्यवस्थापन र आहाराको कमीका कारण हालका वर्षमा यो चरा लोपोन्मुख अवस्थामा पुगेको छ ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully