कोरोना रोकथामका लागि नाकामा छैन सतर्कता

परीक्षणका लागि किटकै अभाव

जेष्ठ २३, २०८२

भवानी भट्ट

Vigilance is not at the border for Corona prevention

कञ्चनपुर — भारतमा कोरोना संक्रमण दिन प्रतिनदिन बढ्दै गएको छ । त्यसको जोखिम नेपालमा पनि बढ्दै गएको छ । तर पनि नाकामा सामान्य जाँच तथा परीक्षण लगायतका गतिविधि हुन सकेका छैनन् ।

बुधबार कैलालीको गौरीफन्टा नाका भएर घर फर्किन लागेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतको दिल्लीबाट घर फर्किएका हुन् । यसलेसमेत जाखिम झनै बढ्दै गएको देखाउँछ । 

कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन किटकै अभाव छ । यहाँ अहिलेसम्म परीक्षणको काम हुन सकेको छैन । ‘एन्टिजेन किट प्राप्त भएको छैन, किन्नका लागि बजारमा पनि अभाव छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने, ‘तत्काल नाकामा कसरी काम गर्ने भनेर माथिल्लो तहबाट कुनै निर्देशन पनि भएको छैन ।’

कोभिड फोकल पर्सन भट्टका अनुसार नाकामा परीक्षणका क्रममा संक्रमण देखिएकालाई कहाँ राख्ने लगायतका विषयमा माथिल्लो तहबाटै निर्देशन भएमा सोही अनुसार काम गर्न सहज हुने बताए । उनले एन्टिजेन किट उपलब्ध भएपछि परीक्षण सुरु गरिने बताए ।

अहिले गड्डाचौकी नाकाबाट दैनिक डेढ/दुई सय जना नेपाल भित्रिने गरेका छन् । उनीहरुलाई सामान्य काउन्सिलिङ गरेर घरतर्फ पठाउने गरिएको गड्डाचौकी हेल्थ डेस्कका प्रमुख विशाल भट्टले बताए । उनका अनुसार किट अभावका कारण परीक्षण हुन सकेको छैन । किट माग गरिएपनि केही दिनमा उपलब्ध हुने जानकारी प्राप्त भएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully