सुदूरपश्चिममा लगानी तथा विकासका लागि प्रि–समिट

जेष्ठ २१, २०८२

अर्जुन शाह

Pre-Summit for Investment and Development in the Far West

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बुधबार लगानी तथा विकास सम्मेलनको पूर्वतयारीका क्रममा धनगढीमा तयारी सम्मेलन (प्रि–समिट) आयोजना गरेको छ । आगामी असोज १ र २ गते सरकारले सम्मेलन आयोजना गर्न लागेको छ । 

तयारी सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायलाई सुदूरपश्चिममा लगानीका लागि आग्रह गरे । ‘हामीसँग विगतको गौरव त छँदैछ, भविष्यको सम्भावनालाई पनि स्वागत गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिम भविष्यको सम्भावनालाई नियालिरहेको छ । सुदूरपश्चिमका हरेक नागरिकका आँखामा विकासको उज्यालो सपना छ ।’ 

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमेलीको साझा सम्मेलन हुने बताउँदै मुख्यमन्त्री शाहले अहिले सुदूरपश्चिमको परिचय बदलिएको बताए । ‘हिजो पछौटेपनको कुरा मात्र गर्थ्यौं, आज सम्भावना र अवसरको कुरा गर्दै विकासका ढोकाहरू खोल्ने प्रयास गरिरहेका छौं,’ उनले भने । 

तीनवटै सरकारबीच सहकार्य बढाउँदै सुदूरपश्चिममा रहेको अपार सम्भावनालाई विश्वसामु उजागर गर्न लगानी तथा विकास सम्मेलन कोशेढुंगा साबित हुने मुख्यमन्त्री शाहको भनाइ थियो । 

लगानी प्रवर्द्धन, दिगो साझेदारीको अवधारणासहित सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जा, मानवपुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्र विभाजन गरी लगानीका लागि आह्वान गर्ने भएको छ । ‘ट्याक्स होलिडे, अनुदान, भूमि व्यवस्थापन, एकद्वारा प्रणाली र प्रोजेक्ट बैंक निर्माण गरेर कार्यान्वयन अघि बढाउन लागिएको छ,’ मुख्यमन्त्री शाहले थपे । 

जलविद्युत‍्को भण्डार मानिएको सुदूरपश्चिमलाई विद्यमान बहुआयामिक गरिबीको सूचकबाट माथि उठाउनैपर्ने मुख्यमन्त्रीको भनाइ थियो । ‘धार्मिक पर्यटनको सम्भावना र यहाँका मौलिक संस्कृतिले समृद्धि नियालिरहेको अवस्था छ,’ उनले भने, ‘यो मौकालाई हामी छोप्न चाहन्छौं ।’ लगानी अनुकूल वातावरण सिर्जना गर्न नीति, कानुन तथा कार्यविधि निर्माण प्रक्रियामा सरकार, सबै राजनीतिक दल, निजी क्षेत्र, विज्ञ तथा नागरिक समाजको हातेमालो रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।  

कार्यक्रममा प्रमुख अतिथि रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले पहाडमा बसाइँसराइ निकै चिन्ताको विषय भएको बताउँदै लगानीका लागि सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र भएको बताइन् । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानीका सम्भावित क्षेत्रहरूको पहिचान र परियोजना सूची तयार गरेर प्राथमिकता निर्धारण गर्नुपर्ने औंल्याए । 

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड कार्चियोसले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । यस्तै, अस्ट्रेलिया र बेलायतका राजदूत, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, विश्व बैंक, यूएनडीपी लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully