दार्चुला — महाकाली नगरपालिका–९ बेदबाट सशस्त्र प्रहरी बलको एक टोलीले प्रतिबन्धित घोडा छाप बिडी र उक्त बिडी ढुवानी गरिरहेको सवारी साधन जिपलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बेदस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्रिंदै गरेको ८ लाख १० हजार मूल्यको बिडी सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाबाट खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले मंगलबार बेदबाट अवैध घोडा छाप बिडी र ओसारपसारमा प्रयोग गरिएको बेबारिसे अवस्थामा रहेको से–१ ज १०८७ नम्बरको बोलेरो जिप बरामद गरेको हो ।
गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक महेन्द्रकुमार बम नेतृत्वको टोलीले उक्त क्षेत्रबाट अठार पेटी (एक हजार आठ सय बन्डल) नेपालमा प्रतिबन्धित घोडा छाप बिडी बरामद गरी आवश्यक कारबाहीका लागि दार्चुला भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टले जानकारी दिए ।
उक्त बिडीको बजार मूल्य ८ लाख १० रुपैयाँ बराबर रहेको छ । २०८१ फागुन महिनादेखि हालसम्मको अवधिमा भन्सार छली भित्र्याएको २० लाख ५७ हजार ६ सय २५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।
