शिक्षाविद्को चिन्ता : उच्च शिक्षाको गुणस्तर खस्कँदा समाज विकासमा अवरोध

बझाङमा भएको 'शिक्षामा नवप्रवर्तन : अवस्था, अवसर र चुनौतीको खोजी' विषयक दुईदिने राष्ट्रिय सम्मेलनमा भाषा, साहित्य, कला, पत्रकारिता, कृषि, विज्ञान, इन्जिनियरिङ लगायतका विषयमा बहस

जेष्ठ १९, २०८२

वसन्तप्रताप सिंह

Concern of educationists: Deterioration in the quality of higher education hinders social development

बझाङ — 'शिक्षामा नवप्रवर्तन : अवस्था, अवसर र चुनौतीको खोजी' विषयमा भएको दुईदिने राष्ट्रिय सम्मेलन बझाङमा सम्पन्न भएको छ । जयपृथ्वी बहुमखी क्याम्पसको आयोजनामा भएको सम्मलेनमा विभिन्न विश्वविद्यालयका प्राज्ञ, अनुसन्धाता, विद्यार्थी, जनप्रतिनिधि तथा विभिन्न विषयका विज्ञ सहभागी थिए ।

सम्मलेनमा भाषा, साहित्य, कला, पत्रकारिता, कृषि, विज्ञान, इन्जिनियरिङ लगायतका विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल, अन्तरक्रिया र बहस भएका थिए । बझाङमा यस्तो खालको सम्मेलन पहिलोपटक भएको हो । विज्ञहरुले उच्च शिक्षाको गुणस्तर खस्कँदै जाँदा समाज विकासको गतिमा अवरोध पुग्न थालेको चिन्ता व्यक्त गरेका छन् । 

शिक्षाविद् डा. लवदेव अवस्थीले ज्ञानको खडेरी पर्दा देश सकिने चेतावनी दिँदै विश्वविद्यालयले स्थानीय माटो सुहाउँदो ज्ञानको खेती गर्नुपर्ने बताएका छन् । उनले विश्वविद्यालयले उत्पादन गरेको ज्ञान समाजका लागि उपयोगी हुनुपर्ने भनाइ राखे ।

‘उच्च शिक्षामा सहकार्यको शक्ति' शीर्षकको सत्रमा बोल्दै उनले भने, ‘सरकार, समुदाय र निजी क्षेत्रलाई आवश्यक पर्ने ज्ञानको उत्पादन गर्ने वातावरण नबनेसम्म देशको विकास सम्भव छैन ।' आफूले उत्पादन गरेको ज्ञानको खपतपछि मात्रै विश्वविद्यालय दिगो रुपमा सञ्चालन हुन सक्ने र समाजको विकासले पनि गति लिन सक्ने उनको भनाइ थियो । 

Concern of educationists: Deterioration in the quality of higher education hinders social development

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले विश्वविद्यालयहरु कक्षाकोठाबाट बाहिर निस्किनुपर्ने बताए । ‘उच्च शिक्षामा निष्ठा र शैक्षिक संस्कृतिको विकास' सत्रमा बोल्दै उनले प्राज्ञिक अनुसन्धान पैसामुखी हुँदै गइरहेकामा चिन्ता व्यक्त गरे । ‘अनुसन्धानबाट प्राप्त ज्ञान आफैमा सम्पत्ति हो । मैले उत्पादन गरेको ज्ञान मलाई नभए मेरो अर्को पुस्तालाई काम लाग्छ । आज नभए भोलि उपयोग हुन्छ भन्ने सोचको विकास गर्न जरुरी छ ।' पन्तले अनुसन्धाताहरुले प्रकृति र समाजमा भइरहेका गतिविधिको सूक्ष्म अनुसन्धानबाट नवप्रर्वतनको खोजी गर्नुपर्ने बताए । 

‘सरकार र शैक्षिक संस्थाको सशक्तीकरणमा सहकार्य' शीर्षकको अर्को सत्रमा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले स्थानीय तहमा नवीन प्रविधि, ज्ञान र चेतनाको आवश्यकता रहेको बताउँदै यसको उत्पादनमा स्थानिीय सरकार र विश्वविद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए । ‘विश्वविद्यालयले मौलिक ज्ञानको खोजी र आधुनिकीकरण गर्न अनुसन्धान र त्यसको कार्यान्वयन सरकारमार्फत संस्कृतिको विकास गर्न जरुरी छ,' उनले भने, ‘सरकारलाई परेको ज्ञानको खाँचो विश्वविद्यालयले पूर्ति गर्ने र प्राज्ञिक अनुसन्धानमा सरकारले सहयोग गर्ने वातावरण निर्माणमा ढिलाइ भइसकेको छ ।'

मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले उच्च शिक्षा अध्ययन हुने शैक्षिक संस्था र सरकारको सहकार्यबिना विकासले आधुनिक युगको आवश्यकता सम्बोधन गर्न नसक्ने भन्दै सहकार्यका लागि तयार रहेको बताए ।

Concern of educationists: Deterioration in the quality of higher education hinders social development

विश्वविद्यालय अनुदान आयोग र बझाङका स्थानीय तहसँगको सहकार्यमा जयपृथ्वी बहुमुखी क्याम्पसले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा अमेरिका र भारतका विश्वविद्यालयका प्राज्ञहरुको पनि सहभागिता रहेको थियो । अमेरिकाको म्यासाच्युसेट्स विश्वविद्यालयका वैज्ञानिक डा. विष्णु जोशीले ‘कृत्रिम बौद्धिकता र प्राकृतिक बुद्धिमताको विषेशता, अवसर, जोखिम र आगामी बाटो' विषयमा कार्यपत्र प्रस्तुत गरे । एआईको विकासले वर्तमान विश्व परिवेशलाई नयाँ युगमा प्रवेश गराउन लागेको उल्लेख गर्दै उनले एआईलाई मानवताका मूल्य सिकाउनुपर्ने चुनौती मानवसामु खडा भएको बताए । 

उच्च शिक्षाको गुणस्तर खस्किँदै जाँदा यसको सोझो असर समाजको विकास, समृद्धि तथा रुपान्तरणका क्षेत्रमा परिरहेकाले गहन छलफल र बहस हुन नसकेको सर्न्दभमा सम्मेलनको गरिएको आयोजक जयपृथ्वी क्याम्पस अनुसन्धान व्यवस्थापन इकाइका अध्यक्ष लालबहादुर बोहराले जानकारी दिए । सम्मलेनमा तीन सयभन्दा बढीको सहभागिता थियो ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully