दार्चुला — बैतडीको दशरथचन्द नगरपालिका–६ टाक बस्ने ७० वर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार दिउँसोतिर स्थानीय जंगलमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएको प्रहरिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ शनिबार दिउँसो भीरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो नै मृत्यु भएको बैतडी प्रहरीका प्रवक्ता बल्देव बडूले बताए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
