कञ्चनपुर — बेदकोट नगरपालिका–५ धरमपुरका दर्शु डगौंराको बसाइ मुक्तकमैया शिविरमा छ। बुवा आमा कमैया बसेकै घरमा जन्मिएका उनले त्यसबारे धेरथोर मात्रै जानेका छन्। त्यही पीडाले उनलाई मिहिनेती पनि बनाएको छ। कमैया मुक्तपछि केही समय खान लाउनै समस्या भयो।
त्यति बेला उनी १२/१३ वर्षका थिए। उनले घर बनाउने (डकर्मी) मिस्त्रीसँगै ज्यालादारी काममा जान थाले। त्यसले घर खर्च चलाउन सजिलो भयो। ज्यालादारी गर्दा गर्दै उनले पनि मिस्त्री काम सिके। अहिले उनी गाउँकै अब्बल मिस्त्री भएका छन्। उनलाई काम गर्न भ्याई नभ्याई भएको छ।
दर्शु मात्रै होइन उनकी श्रीमती पार्वती पनि मिस्त्री नै हुन् । उनले पनि श्रीमानसँगै मजदुरी गर्दा गर्दै डकर्मीको काम सिकेकी हुन् । अहिले दुवै जनाले घर बनाउने ठेक्का लिने र अरूलाई पनि काममा लगाउन थालेका छन् । डगौंरा दम्पती हेड मिस्त्री बनेका छन् ।
‘पहिले काम खोज्दै भौतारिनुपर्थ्यो, अहिले भ्याई नभ्याई छ, अन्य मिस्त्री र लेबर (मजदुर)लाई पनि काम दिएका छौँ,’ पार्वतीले भनिन्, ‘ज्यालादारीमा काम गर्नुभन्दा यसमै फाइदा छ ।’ गडौंरा दम्पतीले वर्षमा ५/६ घरको ठेक्का लिन्छन् । श्रीमान् एकातिर त श्रीमती अर्कोतिर खटिन्छन् । ठुलो काम ढलान वा केही गाह्रो भए दुवै सँगै हुन्छन् ।
पार्वतीले श्रीमान्सँगै मजदुरी गर्दै मिस्त्रीको काम सिकेकी हुन् । त्यसपछि गैरसरकारी संस्थाले तीन महिने तालिम दिएपछि झनै सजिलो भयो । अहिले उनी एक्लै पनि काम गर्न सकिछन् । ‘श्रीमानसँग काम गर्दागर्दै हात बसिसकेको थियो, सफाइ पनि आइरहेको थियो,’ उनले भनिन्, ‘तालिमले विभिन्न डिजाइनसँगै भूकम्प प्रतिरोधी घर कसरी बनाउने भन्ने थाहा पाए ।’
तालिम लिएका कारण उनी श्रीमान् दर्शुभन्दा अब्बल मिस्त्री बनेकी छिन् । कुनै ठाउँमा दर्शुलाई समस्या भए उनले नै सघाउँछिन् । केही नजानेको कुरा उनले नै बताउँछिन् । सँगै काम गर्ने र नजानेको कुरा एक अर्काबाट सिक्ने विषयमा यो दम्पती उदाहरणीय बनेको छ ।
दर्शुले करिब ८ वर्ष यहि काममा मजदुरी गरे । मजदुरी गर्दा गर्दै उनले पनि मिस्त्रीको काम सिके । दुई/चार वर्ष काम सिकेकै मिस्त्रीसँग काम गरे । त्यसले नजानेको काम गर्न सजिलो र सिकाईमा निखार ल्याएको उनी बताउँछन् ।
‘त्यसपछि मैले एक्लैले ठेक्का लिन थाले, वर्षमा दुई/तीन घरको काम गर्थे,’ उनी भन्छन्, ‘श्रीमतीले पनि काम सिकेपछि चाप बढेको छ, अहिले बाह्रै महिना काममा भ्याई नभ्याई छ ।’ अहिले पनि उनले दुई वटा ठूला घर निर्माण गरिरहेका छन् । उनले गाउँका अरु मिस्त्रीलाई पनि दैनिक ज्यालादारीमा काममा लगाएका छन् । ठेक्कामा काम गर्दा पनि दैनिक १५ सय रुपैयाँ हाराहारी बचत गर्न सकिने डगौंरा बताउँछन् ।
त्यसैबाट घर खर्च बालबालिकाको पढाइ सँगै अलिअलि बचत हुने गरेको उनले बताए । दम्पतीसँगै काम गर्ने भएकाले एक अर्काको अवस्था बुझ्नुका साथै सबै समस्या पनि थाहा हुने उनी बताउँछन् । डगौंरा दम्पतीको खेतीपाती छैन । एक छोरा र एक छोरी छन् । छोरी ७ कक्षामा र छोरा ३ कक्षामा अध्ययनरत छन् ।
