दार्चुला — प्रतिबन्धित बिँडीसहित प्रहरीले बैतडीको पुर्चौडस्थित बजियपुरबाट जिप चालक र साहुलाई नियन्त्रणमा लिएको छ। बिहीबार प्रहरीले पुर्चौड नगरपालिका–१० बजियपुरबाट बिँडी, जिप चालक र साहुलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रतिबन्धित बिँडी जिपमा ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा करिब तीन लाख ३० हजार रुपैयाँ बराबरको बिँडीसहित जिप चालक र साहुलाई नियन्त्रणमा लिएको जनाएको छ।
बजियपुरबाट हाटतर्फ जाँदै गरेको सुप प्र ०१००१ ज १७१३ नम्बरको बोलेरो जिपमा बिँडी ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले बिँडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए।
बिँडीसहित जिप, जिप चालक सिगास गाउँपालिका–२ का २२ वर्षीय मानसिंह धामी र पुर्चौड नगरपालिका–१० बजियपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको प्रतिबन्धित बिँडीसहित गाडी, चालक र साहुलाई आवश्यक कारवाहीका लागि शुक्रबार महाकाली भन्सार कार्यालयमा बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए। बिँडी भारतबाट अवैध रूपमा भित्रिएको हुन सक्ने अनुमान गरिएको छ।
यसअघि जेठ ४ गते पनि दुई लाख ८२ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडी बरामद गरिएको प्रहरीले जनाएको छ।
