दार्चुला — नौगाड गाउँपालिका-६ धुलिगडामा माथिबाट खसेका ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहानतिर ढुंगा लागेर अन्दाजी ७० वर्षीय कालू जोशीको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ७ बजेको समयमा बाटोमा जाँदै गरेको अवस्थामा रतपडेमा माथिबाट खसेको ढुंगा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएको प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलबार रातिको अविरल वर्षाका कारण खलङ्गा-दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा खलङ्गाबाट नौगाड गाउँपालिकाका विभिन्न स्थानमा जाने सवारीका साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
