महाकालीको बाढीले भत्काएको गाइड बन्ड सेनाको जिम्मा

जेष्ठ १३, २०८२

भवानी भट्ट

In charge of the Guide Bond Army destroyed by the floods of the Mahakali

कञ्चनपुर — महाकाली नदीको बाढीले गत वर्ष भत्काएको चार लेनको पक्की पुलको गाइड बन्ड नेपाली सेनाले निर्माण गर्न थालेको छ । जिल्ला विपद् व्यस्थापन समितिले संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेपछि मन्त्रिपरिषद‍्को निर्णय अनुसार सेनाले भत्केको स्थानमा पुनःनिर्माणसँगै महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम सुरु गरेको हो ।

मन्त्रिपरिषद‍्को जेठ ६ गतेको निर्णयले महाकाली नदी किनारको गाइड बन्ड भत्केको क्षेत्रलाई संकटग्रस्त घोषणा गरी नेपाली सेनामार्फत काम गराउने निर्णय भएको थियो । सोही अनुसार सेनाले गाइड बन्डसँगै महाकाली नदीलाई च्यानलाइजेसनको काम सुरु गरेको हो । 

अहिले नेपाली सेनाका जवानदेखि अधिकृतहरू उपकरणसहित गाइड बन्ड निर्माण र च्यानलाइजेसनमा खटिएका छन् । बिहानदेखि साँझसम्मै तीव्र गतिमा काम भइरहेको छ । यसले नदी किनारका बासिन्दालाई केही हदसम्म महाकालीको बाढीबाट हुने जोखिमबाट जोगाउने आशासमेत पलाएको छ । 

‘अहिले गाइड बन्ड निर्माण र नदीलाई बीच भागमा बगाउने गरी काम भइरहेको छ,’ नेपाली सेनाको इन्जिनियर विभागका इन्जिनियर प्रमुख सेनानी निसानत पण्डित क्षेत्रीले भने, ‘एक महिनाभित्र काम सक्ने लक्ष्य छ, मौसमले साथ दिएमा त्यो सम्भव छ ।’ बर्खाको समय नजिक आइसकेका कारण छिटो काम सक्ने गरी निर्माण कार्य अघि बढिरहेको उनले बताए । 

उक्त कार्यका लागि नेपाली सेनाको सैनिक मुख्यालयबाटै प्राविधिकदेखि जवानहरू खटिएका छन् । प्रमुख सेनानी पण्डितका अनुसार पुल आयोजनाको स्विकृत डिजाइन अनुसार काम भइरहेको छ । जसका लागि ३ सय देखि ५ सय जनशक्ति र १८ देखि २० ब्याकहोलोडरदेखि टिप्परलगायतका उपकरण प्रयोग भइरहेका छन् । 

गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले गाइड बन्ड भत्काएको थियो । त्यसपछि भेरिएसन नहुँदा गाइड बन्डको मर्मत हुन सकेको थिएन । महाकाली नदीमा निर्मित चार लेनको पक्की पुलको दुवैतर्फ ६ सय मिटर चौडाइका र २८/२८ सय मिटर लम्बाइका पोखरी निर्माण गर्नुपर्ने डिजाइन छ । त्यही अनुसार दुई वर्षअघि नै स्विकृत भएको डिजाइन अनुसार गाइड बन्ड निर्माण गरिएको थियो ।

सुरुमा ठूलो ढुंगाबाट गाइड बन्ड बनाउने डिजाइन बनाइको थियो । महाकाली नदीको वहावले २ सय ५० किलोग्रामभन्दा बढी तौलका ढुंगा बगाउन नसक्ने मापन गरिए अनुसार उक्त डिजाइन बनाइएको हो । तर ठूला ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरेर पलम्ब कंक्रिटको गाइड बन्ड बनाउने तय गरिएको छ । 

सोही अनुसार गत आर्थिक वर्षमा नदीको दुवैतर्फ पुल पलम्ब कंक्रिटको गाइड बन्ड बनाइएको थियो । नदीको पूर्व भीमदत्त नगरपालिकातर्फको गाइड बन्ड महाकाली नदीको बाढीले बगाएको थियो । बगाएको सोही २ सय ६२ मिटर गाइड बन्ड र २६ सय मिटर नदीको बहाव परिवर्तन गर्ने काम गर्नुपर्नेछ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बर्खा नजिकिदै गर्दा समेत गाइड बन्डको भेरिएसन नभएपछि उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको थियो । त्यही आधारमा गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरेर सेना परिचालन गरेर गाइड बन्ड बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदले जेठ ६ मा निर्णय गरेर ९ गतेदेखि सेनाले काम सुरु गरेको हो । 

गाइड बन्ड र च्यानलाइजेसनका लागि नेपाली सेनाले १९ देखि २९ करोड बजेट खर्च हुने अनुमान गरेको छ । त्यसका लागि पहिलो चरणमा ९ करोड बजेट विनियोजन भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । 

‘फुल फेजमा काम भएमा निर्धारित समय (एक महिना)मै काम सकिन्छ,’ प्रमुख जिल्ला अधिकारीले ढकालले भने, ‘अहिले उपकरणको अभाव छ, निजी क्षेत्रमा रहेका उपकरण पनि कामको चापले उपलब्ध भएका छैनन् ।’ उनले असार नजिकिदै गर्दा बर्खायामको जोखिमसमेत बढ्दै जाने भएकाले समयमै काम सक्नुपर्ने बाध्यता रहेको बताए । 

महाकाली नदीमा निर्माणाधीन चार लेनको पुल आयोजनाको काम अन्तर्गत पक्की पुल निर्माणको काम सकिएको छ । पूर्व–पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुलको दुवैतर्फ पोखरी निर्माणको काम पनि डिजाइनको अलमलले ढिलाइ भएको हो ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully