बझाङ — एकीकृत समाजवादीको मंगलबार सम्पन्न भएको बझाङ जिल्ला अधिवेशनले अक्कल धामीको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको छ । जेठ १० गतेबाट केदारस्युँ गाउँपालिकाको झोतामा सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । एकीकृत समाजवादीका अध्यक्ष धामी छविसपाथीभेरा गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
अधिवेशनले केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहरालाई उपाध्यक्ष पदमा चयन गरेको छ भने अर्को उपाध्यक्ष पदमा भक्त भण्डारी चयन भएका छन् । भण्डारी पार्टी विभाजन हुनुभन्दा पहिला एमालेनिकट युवा संघ बझाङको अध्यक्ष थिए ।
यस्तै अधिवेशनबाट जिल्ला कमिटी सचिवमा लक्ष्मी जोशी, उपसचिवमा जोग कठायत र हरिस खड्का तथा महिला उपसचिवमा राधिका चित्रकारलाई चयन गरेको निवर्तमान अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिए ।
अधिवेशनमा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोशी, महासचिव धनश्याम भुसाल, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दिर्घ सोडारीलगायत नेता बझाङ पुगेका थिए ।
