जबरजस्ती करणीका आरोपित भारत भाग्दै गर्दा गड्डाचौकीबाट पक्राउ

जेष्ठ १२, २०८२

भवानी भट्ट

Accused of rape arrested while fleeing India from Gaddachouki

कञ्चनपुर — डोटीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणीका आरोपितलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सोमबार पक्राउ गरिएको छ । दिपायल सिलगढी नगरपालिका-८ का ६१ वर्षीय गंगाराम कोलीलाई गड्डाचौकी नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार पक्राउ गरिएका कोलीलाई डोटी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी दीपेन्द्र पालका अनुसार फागुन १४ गते दिपायल सिलगढी-८ नारिदाङस्थित शिवरात्रि मेलामा गएकी १४ वर्षीय किशोरीमाथि कोलीले जबरजस्ती करणी गरेको भन्दै जेठ ११ मा प्रहरीमा जाहेरी परेको हो । जाहेरीकै आधारमा प्रहरीले आरोपितको खोजी सुरु गरेको हो ।

मेलाबाट फर्किने क्रममा पिपल चौतारामा बसेका बेला नजिकैको पुरानो पानीघट्टमा लगेर कोलीले जबरजस्ती करणी गरेको र कसैसँग भनेमा ज्यान मार्ने धम्की दिएको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन् । पीडितको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले जनाएको छ । 

‘निरन्तर फलो गरेर आरोपितलाई समात्न सफल भएका हौं,’ डीएसपी पालले भने । पीडित किशोरी गर्भवती रहेको प्रहरीले जनाएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully