सुदूर पश्चिम सरकारले आगामी बजेटमा खुद्रे योजनाहरू कटौती गर्ने

जेष्ठ ११, २०८२

अर्जुन शाह

Far West government to cut retail schemes in upcoming budget

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमा साना, छरिएका र अनुत्पादक योजनाहरूमा बजेट कटौती गर्ने प्रदेश गौरवका, रणनीतिक महत्त्वका, बहुवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकता दिइने बताएको छ । 

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेशसभामा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।

मन्त्री थापाले आगामी बजेटमा ऊर्जा, आवास, सहरी विकास, सरसफाइ, सडक, पुल, सिंचाइ, खानेपानीलगायत क्षेत्रको पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिइने बताएका छन् । त्यस क्रममा नयाँ योजना निर्माणमा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्ने नीति लिइने उनको भनाइ छ । 

‘पुँजी निर्माणमा सहयोग पुर्‍याउने ठूला र युगान्तकारी योजनाहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने छ,’ मन्त्री थापाले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा भनिएको छ ‘ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत उत्पादनलाई प्राथमिकता दिई संघ र स्थानीय सरकारसँगको सहकार्यमा निजी क्षेत्रको पुँजी परिचालन गर्न प्रोत्सहित गरिने छ ।’ उनले राजस्व सुधार कार्ययोजना तयार गरेर राजश्व परिचालनलाई व्यवस्थित गर्ने उल्लेख गरेका छन् । 

प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्रको मुख्य योगदान रहने सम्भावना रहेको सुदूरपश्चिममा धार्मिक, प्राकृतिक, सहासियक पर्यटन क्षेत्रलाई प्रोत्साहन गरिने उनको भनाइ छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully