भन्सार कर्मचारी आन्दोलित
धनगढी — कैलाली प्रमुख भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि शनिबार राति नगर प्रहरीले कुटपिट गरेको छ । राति १० बजेतिर कार्यालयको परिसरभित्र पसेर धनगढी उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितको टोलीले कुटपिट गरेको थियो ।
कार्यालय प्रमुखमाथि कुटपिट भएको विरोधमा आइतबार कैलाली भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टहरुले पेन डाउन गर्दै कामकाज ठप्प गरेका छन् । त्रिनगर नाकाबाट आइतबार आयात र निर्यात रोकिएको छ । कार्यालयका अनुसार कैलाली भन्सार कार्यालयबाट दैनिक औषत तीन करोड राजस्व संकलन हुने गरेको छ । कर्मचारी आन्दोलित हुँदा उक्त राजस्व संकलन कार्य स्वतः प्रभावित भएको छ ।
कार्यालयका सूचना अधिकृत खिमप्रसाद अर्यालले भन्सार प्रमुख तिम्सिना खाना खाएर कार्यालयका मूलगेट बाहिर रहेका बेला नगर प्रहरीको टोली आएर कुटपिट गरेको बताए । ‘बाहिर सडकदेखि कार्यालय हाताभित्रसम्म भकुरेर कुटपिट गरेको सीसीटीभी फुटेज हेरेर थाहा पायौं, ‘तीव्रगतिमा आएको भारतीय नम्बर प्लेटको गाडीलाई प्रमुख तिम्सिनाले रोक्न संकेत गरिरहेका बेला पुगेको नगर प्रहरीको टोलीले एकाएक कुटपिट गरेको हो ।’
धनगढीमा ६ लेन सडकमा लगाइएको बिरुवाको टिगार्ड तोडेर भन्सारतिर गएको सूचनाका आधारमा नगरप्रहरीको टोली उक्त गाडीलाई खोज्दै भन्सार क्षेत्रमा पुगेको बुझिएको छ । घटना भएको स्थान नजिकै सशस्त्र प्रहरीको ब्यारिएर छ । त्यहाँ खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनाप्रति मूकदर्शक भएको कैलाली भन्सार ऐजेन्ट महासंघका अध्यक्ष दिपेन्द्रप्रसाद भट्टले बताए । ‘घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेका छौं,’ उनले भने ।
सशस्त्र प्रहरी ३४ नम्बर गणका डीएसपी प्रेमसिंह धामीले भन्सार प्रमुख तिम्सिना र नगर प्रमुखबीच सुरुको चरणमा सशस्त्रको ब्यारिएर नजिक सामान्य भनाभन हुन थालेपछि तिम्सिनालाई कार्यालयभित्र पुर्याएको तर पछि नगर प्रहरीको टोली कार्यालय हाताभित्रै पसेर कुटपिट गरेको बुझिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले तिम्सिनाले आफूमाथि कुटपिट भएको भन्दै किटानी जाहेरी दिएको बताए । ‘हामी घटनाको विस्तृत अध्ययन गर्दैछौं,’ उनले भने ।
धनगढी उपमहानगरपालिकाले आइतबार दिउँसो नगर प्रहरी प्रमुख धामीलाई घटनाका बारेमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ । ‘भन्सार कार्यालय प्रमुखलाई कार्यालय हाताभित्र गई कुटपिट गरेको देखिएको छ । आफ्नो अधिकार क्षेत्रबाहिर र पदीय मर्यादाको उल्लंघन गर्नुको कारण के हो ?, २४ घण्टाभित्र उचित कारणसहित स्पष्टीकरण पेस गर्नु होला,’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित पत्रमा धामीलाई भनिएको छ । नगर प्रहरी धामीले भने मोबाइल अफ गरेका छन् ।
