बैतडीका तीन स्थानीय तहमा किशोरकिशोरीमैत्री सूचना केन्द्र

जेष्ठ ४, २०८२

रासस

Adolescent friendly information center at three local levels of Baitadi

बैतडी — जिल्लाका तीन वटा स्थानीय तहमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ। पाटन नगरपालिका, सुर्नया र डिलाशैनी गाउँपालिकाका विभिन्न विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन गरिएको हो।

तीनवटै पालिकामा सञ्चालनमा रहेका सूचना केन्द्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको नेपाल परिवार नियोजन सङ्घका वरिष्ठ शाखा प्रबन्धक वासुदेव विष्टले बताए।

किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्यका धेरै विषयमा र बृहत् यौनिकता शिक्षाका विषयमा समेत जानकारी दिने गरेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताए। उनले भने, 'किशोरकिशोरीमैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरिरहेको छ ।'

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, अष्ट्रेलियन एड र नेपाल परिवार नियोजन सङ्घको सहयोगमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन भइरहेका हुन् । तर पछिल्लो समय सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएका छन् । नेपाल परिवार नियोजन सङ्घ पाटनका सभापति मानबहादुर चन्दले किशोरकिशोरीमैत्री सूचना केन्द्र विद्यालयमा आवश्यक रहेको र यी केन्द्रलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। 

केन्द्रलाई निरन्तर रूपमा सञ्चालन गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। उनले भने, 'यौन तथा प्रजनन स्वास्थ्यका विषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रले सहयोग गर्नेछन्, साथै समाजमा रहेका विभिन्न हानिकारक चलन हटाउन पनि केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।' 

केन्द्रका लागि विद्यालयमा एउटा छुट्टै कोठा व्यवस्थापन गरेर किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अध्ययन गर्न सक्ने विभिन्न पाठ्यसामग्री राखिन्छन् । उक्त केन्द्रमा किशोरकिशोरीले आफ्ना समस्याका विषयमा खुलेर छलफल गर्ने जनाइएको छ ।

रासस

Link copied successfully