डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–१ स्थित स्याउले बस्तीमा विगत ३ सातादेखि खानेपानीको हाहाकार छ । १४ किलोमिटर टाढा रहेको मूलबाट आउने पानीले नपुग्ने भएपछि स्थानीय शिखर धारामा खाने पानीका लागि घण्टौं लाइन लाग्न थालेका छन् ।
स्याउले र आसपासका क्षेत्रका करिब सात सय ७५ घरधुरी उपभोक्तालाई नियमित खानेपानी आपूर्ति हुने पाइपलाइनको जिआई पाइप चुँडिएर आपूर्ति अवरुद्ध भएको हो । नगरपालिकाको १ र २ का अधिकांश बस्तीहरू यहिँ मूलको पानीमा निर्भर छन् ।
स्थानीयहरुले स्याउले बजार नजिकैको ‘शिखर धारा’बाट वैकल्पिक रूपमा पानीको प्रयोग गर्ने गरेका छन् । एक गाग्री पानी लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय चन्द्र दियालले सुनाए ।
अमरगढी नगरपालिका–१ का वडा अध्यक्ष लोकबहादुर ऐरका अनुसार मूल टाढा भएकाले प्राविधिक समस्या आउँदा तत्काल समाधान गर्न कठिनाइ हुने गरेको हो । ‘हामीले जेनेरेटरसहित प्राविधिक टोली पठाएर चुँडिएको जिआई पाइप मर्मत गर्ने प्रयास थालेका छौं,’ अध्यक्ष ऐरले भने, ‘एक–दुई दिनमै समस्या समाधान हुनेछ ।’
हिउँदमा पानीको स्रोत सुक्ने, बर्खामा पहिरोले पाइप बगाउने तथा बेलाबेला पाईपलाईनमा समस्या आउँदा उपभोक्ताहरु समस्यामा पर्ने गरेका छन् । विद्यालय, स्वास्थ्यचौकी तथा होटलमा समेत पानी अभावले प्रभावित भएका छन् । बस्तीमा पानीको अभावसँगै सरसफाइको समस्या र स्वास्थ्य जोखिम बढेको छ ।
