कैलाली — सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढीकेन्द्रित आनदोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।
धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरु धर्ना बसेका छन् । आफ्ना माग समबोधन गर्न प्रदेश सरकारलाई पटकपटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरुको गुनासो छ । यसपटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनीसमेत दिएका छन् ।
डोटीको आदर्श गाउँपालिकाको शिक्षा शाखामा कार्यरत पदम विष्टले अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागू गरिसक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको बताए । ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवादेखि अन्य वृत्ति विकासमा समस्या भएको उनको भनाइ छ ।
२०८० देखि ऐन जारी गर्न माग राखे पनि समयमा सम्बोधन नहुँदा आन्दोलनमा उत्रिनुपरेको डेडल्धुराको भागेश्वर गाउँपालिकाका कर्मचारी वीरबहादुर खड्काले बताए । सरकारले यथाशीघ्र ऐन जारी नगरे सबै स्थानीय तहमा तालाबन्दी गरेर आन्दोलन लम्ब्याउने कर्मचारीको भनाइ छ ।
