आमसञ्चार विधेयक अगाडि बढ्छ : मन्त्री सार्की

वैशाख २७, २०८२

तर्कराज भट्ट

The Mass Media Bill will go ahead: Minister Sarki

डडेल्धुरा — सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले आमसञ्चार विधेयकलाई आगामी प्रदेशसभा बैठकमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि डडेल्धुरामा आजबाट सुरु भएको दुईदिने प्रदेशस्तरीय तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री सार्कीले सरकार र जनताको सेतुका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ प्रभावकारी बनाउन कानुनी पूर्वाधार आवश्यक भएको उल्लेख गरे । ‘पत्रकार राज्यको चौथो अंग हुन्,’ मन्त्री सार्कीले भन्ने, ‘तपाईंहरूले सरकारलाई बेलाबेलामा आलोचनात्मक सुझाव दिनु जरुरी छ, यस्तै सुझावहरूले सरकार सचेत र जवाफदेही बन्नेछ ।’

उनले आफैंले पटक–पटक प्रयास गरेर तीन–चार महिनाको मेहनतपछि आमसञ्चार नीति पारित गराएको स्मरण गर्दै अब आमसञ्चार विधेयकलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने जानकारी दिए । मन्त्री सार्कीले पत्रकारहरूको हकहित संरक्षणका लागि विधेयक आवश्यक रहेको तथा पत्रकार स्वयं पनि आफ्नो अधिकारका लागि संगठित र सचेत हुनुपर्ने समय आएको बताए ।

‘सरकारले गरेका काम कारबाही जनतासम्म पुर्‍याउनु पनि पत्रकारहरूको कर्तव्य हो,’ मन्त्री सार्कीले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले सञ्चारकर्मीको हकहितमा राज्यको दायित्वबोधको खाँचो औंल्याए । उनले सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन र आवश्यक अनुदान दिनुपर्ने बताए ।

तर्कराज भट्ट

Link copied successfully