काँक्रा र गोलभेँडाको हाइब्रिड बीउ उत्पादन सुरु

वैशाख २६, २०८२

तर्कराज भट्ट

Hybrid seed production of cucumber and cowpea started

डडेल्धुरा — अमरगढी नगरपालिका–३ स्थित तरकारी जर्मप्लाज्म संवर्द्धन तथा बीउ उत्पादन केन्द्रले यो वर्षबाट हाइब्रिड बीउ उत्पादन गर्न थालेको छ । स्थानीय स्तरमै गुणस्तरीय हाइब्रिड बीउ उपलब्ध गराउने उद्देश्यले तरकारीहरूको मूल बीउ उत्पादन गर्दै आएको यो कार्यालयले हाइब्रिड बीउ उत्पादन सुरु गरेको हो।

२०४३ मा स्थापना भएको यो केन्द्रले विगतमा केराउ, धनियाँ, सिमी, काउली, बन्दा, मूला, रायो जस्ता तरकारीको मूल बीउ उत्पादन गर्दै आएको थियो।

कार्यालय प्रमुख तारीसिंह ठकुराठीका अनुसार यहाँ ‘सिर्जना’ जातको गोलभेँडा र ‘मधु’ जातको काँक्राको बीउ उत्पादन सुरु गरिएको हो । ‘सुरुवातमा सानो परिमाणमा आफ्नै योजना अन्तर्गत गोलभेँडा र काँक्राको हाइब्रिड बीउ उत्पादन सुरु गरेका छौँ,’ उनले भने, ‘मल्चिङ प्रविधि र थोपा सिँचाइ विधिबाट आधुनिक ढंगमा खेती गरिएको यो प्रयासबाट १० किलो काँक्राको र ५ किलो गोलभेँडाको बीउ उत्पादन हुने आशा छ ।’

८६ रोपनी क्षेत्रफलमा रहेको केन्द्रमा ४६ रोपनी खेतीयोग्य जमिन छ । हाल ३८ रोपनीमा बीउ उत्पादन भइरहेको छ । यस वर्ष डेढ रोपनीमा काक्रा र ३ रोपनीमा गोलभेँडा लगाइएको छ । कार्यालयकी सूचना अधिकारी अस्मिता ढकालका अनुसार यहाँ उत्पादन हुने बीउ कञ्चनपुरको सुन्दरपुरस्थित प्रयोगशालामा परीक्षण गरेर किसानलाई सुलभ दरमा वितरण गरिनेछ।

उनले भनिन्,‘हामीले हाल १० केजी काक्रा र ५ केजी गोलभेँडाको बीउ उत्पादन गर्ने लक्ष्य लिएका छौँ । परीक्षण सफल भएमा यो बीउ सुदूरपश्चिमका अन्य जिल्लामा पनि पटाउनेछौँ ।’ बीउ उत्पादनमा प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि अनुसन्धान परिषद् खुमलटार तथा कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोग रहेको उनले बताइन् ।

केन्द्रमा हाल १७ जनाको दरबन्दी भए पनि ७ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति अभाव बीच पनि केन्द्रले सुदूरपश्चिमका नौ वटै जिल्लामा काम गरिरहेको छ । कर्मचारी अभावका कारण धेरैजसो योजना समयमा कार्यान्वयन गर्न नसकिएको पनि सूचना अधिकारी ढकालको भनाइ छ ।

‘हामीसँग स्रोत छ, जमिन छ, तर प्राविधिक जनशक्ति नहुँदा कहिलेकाहीँ चुनौती पर्छ,’ ढकालले भनिन् । केन्द्रमा अहिले उत्पादन भइरहेको मूला र रायोको मूल बीउ स्थानीय तहहरू, कृषि ज्ञान केन्द्र तथा स्थानीय बिक्रेता र किसानलाई बिक्री भइरहेको छ ।

तर्कराज भट्ट

Link copied successfully