डोटी — डोटीको सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा गाडीहरू सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता छ। भएको बसपार्क पनि सानो भएको कारण देखाउँदै गाडी व्यावसायीहरू बसपार्क जानै मान्दैनन्। त्यो बसपार्क हिजोआज सुनसान छ। त्यहाँ बिहान र बेलुकाको समयमा युवाहरू क्रिकेट खेल्ने गर्छन्।
गाडीहरू सडकमा पार्किङ गरेर आफ्नो पसल नै छेकिदिने व्यापारीहरूको गुनासो छ। ‘गाडीहरू बसपार्कमा नगएर सडकमा पार्किङ गर्छन्, हाम्रो व्यवसाय छेकिन्छ,’ एक व्यापारीले भने, ‘हामीले सम्बन्धित निकायलाई धेरैपटक खबर गरिसक्यौं, कसैले पनि वास्ता दिँदैन। यसले गर्दा सडकमा दुर्घटना पनि बढेको छ।’
डोटीको दिपायल सिलगढी नगरपालिकाले २०५२ सालमा साविकको १० वडामा पर्ने कठायत टोलमा बसपार्क निर्माणका लागि १ लाख ९० हजारमा जग्गा समेत खरिद गरेको थियो। त्यहाँ पालिकाले ८ लाख ९० हजार जति खर्च गरेर घेरा (पर्खाल) निर्माण समेत गरेको थियो। तर पछि त्यो ठाउँ सानो हुने भन्दै उक्त ठाउँ २७ वर्षसम्म बाँझो भयो। २०७९ सालमा उक्त जग्गा नगर प्रमुख विजय खड्काले नगर अस्पताल बनाउने योजना बनाए र अहिले नगर अस्पतालको भवन बन्दै छ।
दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्दा यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या भएको छ। बसपार्क ठूलो नभएका कारण सवारी मुख्य सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालक बताउँछन्।
उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक करिब ४०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलावा ट्रक, टिपर, ट्रयाक्टर, अटो, बस र अन्य यातायातका साधनको चाप दिनानुदिन बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाले बताएको छ।
‘मैले त बसपार्कमा नै गाडी जान्छन् भनेको सुनेको थिएँ। तर नजाने रहेछन्। म बुझ्छु,’ डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने। उनका अनुसार यस विषयमा स्थानीय तह नै मौन छ।
गत वर्ष २०८१ सालमा दिपायल सिलगढी नगरपालिकाले बसपार्क निर्माण गर्ने भनेर २९ रोपनी जग्गा प्रति रोपनी १ लाखका दर २९ लाख खर्च गरेर जग्गा खरिद गरी सकेको नगर प्रमुख बाजिसिंह खड्का (विजय)ले जानकारी दिए।
‘हामीले आधुनिक बसपार्कको लागि डीपीआर तयार पारेर स्वीकृत समेत भईसकेको छ। नदीको किनारमा बन्ने भएकाले त्यहाँ धेरै पैसा खर्च हुँदैछ,’ प्रमुख खड्काले भने, ‘हामीले नगर विकास कोषबाट ९ करोड ऋण माग गरेका छौं। अब आउँछ होला।’ तटबन्धनको टुंगो लाग्ने बितिकै त्यहाँ काम सुरु गर्ने खड्काले बताए।
