डडेलधुरा — डडेलधुराको आलिताल गाउँपालिका–८ सुनखोलास्थित जोगबुढा–बुडर भित्री सडकखण्डमा अटोको ठक्करबाट पैदलयात्री बालकको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
बिहीबार साँझ ५ बजेतिर कैनघाडीबाट गोदाम बजारतर्फ जाँदै गरेका बिक्रम बिकका चार वर्षीय छोरा विवेक बिकलाई बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोले ठक्कर दिएको हो । नामथर खुल्न नसकेको व्यक्तिले चलाएको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिएपछि अटो पल्टिएको थियो ।
गम्भीर घाइते बालक बिकलाई उपचारका लागि एम्बुलेन्समार्फत तत्काल जोगबुढा अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको डडेलधुरा प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार आलिताल–४ का १८ वर्षीय दिपक बोहरा र आलिताल–६ की ६३ वर्षीया मैना कामी सामान्य घाइते भएका छन् । दुवै जनाको दाहिने हातमा चोट लागेको छ । उनीहरूलाई जोगबुढा अस्पतालमै उपचार गरिएको छ ।
दुर्घटनापछि अटो चालक फरार भएका छन् । अटो भने घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी डम्बर विष्टले बताए ।
