अछाम — प्रधानमन्त्री केपी शार्मा ओलीले करिब एक दशकअघि हावाबाट बिजुली निकालेर लोडसेडिङ अन्त्य गर्ने घोषणा गरे । ०७२ असोज २७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्ष भित्र लोडसेडिङ अन्त्य गर्न र त्यसका लागि हावाबाट बिजुली निकालिने घोषणापछि विपक्षी राजनैतिक दलका कार्यकर्ताले उनको आलोचना गरे । सामाजिक सञ्जालमा ट्रोल बने ।
उनले त्यतिबेला एक वर्षभित्र हावाबाटै ३ सय मेगावाट बिजुली निकालिने घोषणा गरेका थिए । आफ्नो घोषणालाई यर्थाथमा परिणत गर्न तत्कालीन समयमा उनलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साथ पनि मिल्यो ।
हावाको बहावका आधारमा सैद्धान्तिक रूपमा नेपालमा चुरे क्षेत्र, पहाडी भञ्ज्याङ तथा हिमाली क्षेत्रमा प्लान्ट राखेर हावाबाट बिजुली निकाल्न सक्ने सम्भावनाको अध्ययन गर्दै नेपालका धेरै ठाउँमा प्रक्रिया अगाडि बढ्यो । सोहीअनुरूप अछामको कमलबजारमा आर्थिक वर्ष २०७२/०७३ मा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र , कमलबजार नगरपालिका र स्थानीयको श्रमदान गरी करिब २ करोड लागतमा हावाबाट बिजुली निकाल्ने परियोजनाको काम सुरु भयो । १५ किलोवाट क्षमता हावाबाट र १५ किलोवाट विद्युत् सोलारबाट गरी जम्मा ३० किलोवाट क्षमताको विद्युत् उत्पादन भएको थियो ।
निर्माण कार्यको जिम्मा लिएको कृष्ण ग्रिल विराटनगर र टेब्सुन जेभी कम्पनीले २०७३ पुसमा यसको सफल परीक्षण गर्यो । प्रधानमन्त्री ओलीले घोषणा गरेबमोजिम बमलबजारमा हावाबाट बिजुली निकालिएको भन्दै आलोचना गर्नेलाई उनका कार्यकर्ताले जवाफ दिने प्रक्रिया निरन्तर चलिरह्यो । तर निर्माण सम्पन्न भएको ३ वर्षमै उक्त परियोजना बन्द भयो । नगरपालिकाका प्रशासकीय अधिकृत खडक विष्टका अनुसार बजार क्षेत्रका २ सय घरधुरीले २०७६ सम्म हावाबाट निकालिएको बिजुली बाल्न पाए । करिब ५ हजार जनसंख्या लाभाविन्त भए । हाल उक्त परियोजना बन्द भएको ६ पनि वर्ष भइसकेको छ ।
‘तत्कालीन समयमा कमलबजार क्षेत्रमा विद्युत्को केन्द्रीय लाइन कमलबजारमा नपुगेकाले यहाँका जनतालाई ठूलो राहत भएको थियो । केन्द्रीय विद्युत् प्रसारणसँग कमलबजार जोडिएपछि बन्द भयो,’ विष्टले भने ,‘ प्राविधिक समस्या देखिएर लामो समयदेखि बन्द भएको छ । आयोजना स्थलमा राखिएका प्राविधिक सामान चोरी पनि भएका छन् । मर्मतसम्भार गर्नु पर्ने छ ।’ उनका अनुसार हावाबाट बिजुली निकाल्ने प्रविधिको मर्मत गर्नुपर्ने सामान चीनबाट ल्याउनु पर्ने उनले बताए । करिब २५ लाख लगानी गरेमा फेरि हावाबाट बिजुली निकाल्न सकिने उनले बताए । ‘ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नगरपालिकाको सयुंक्त लगानीमा आयोजनाको काम भएको हो । यो नगरपालिकाकै सम्पत्ति हो । मर्मत गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।
हावाबाट बिजुली पुनः सञ्चालन गरेर नगरपालिकाभित्रका स्वास्थ्य संस्था लगायत सरकारी निकायमा बिजुली बाल्ने विषयमा छलफल भइरहेको उनले बताए । उनका अनुसार तत्कालीन समयमा उक्त बिजुली सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति पनि तयार गरिएको थियो ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनु अगाडि नै कमलबजारमा हावाबाट बिजुली बलिसकेकाले यसको प्राविधिक पक्ष ,लगानी र समन्वयमा ध्यान नपुगेको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए । आगामी आर्थिक वर्षमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर पुनःसञ्चालनका लागि छलफल गरिरहेको उनले बताए । ‘आगामी आवमा उक्त परियोजनालाई पुनः सञ्चालन गर्नका लागि छलफल र सहकार्य भइरहेको छ,’ उनले भने ।
कमलबजारमा हावाबाट बिजुली निकलिएपछि बजारको चहलपहलसमेत बढको स्थानीय नरबहादुर विष्टले स्मरण गरे । ‘केपी ओलीले हावाबाट बिजुली निकाले भन्दै दैनिक सयौंको संख्यामा हर्न पनि आउँथे । बजारमा चहलपहल पनि निकै बढेको थियो,’ उनले भने,‘कहिल्यै उज्यालो बाल्न नपाएका हामीले बत्तीको उज्यालो देख्यौं । केही समय झिलिमिली पनि भयो । त्यसपछि एकाएक बन्द भयो । फेरि चलाउने चासो कसैले दिएनन् ।’
