शिक्षा अधिकृतको निधनमा लेकम गाउँपालिकामा शोक बिदा

वैशाख २३, २०८२

मनोज बडू

Mourning holiday in Lekam Rural Municipality for the death of education officer

दार्चुला — लेकम गाउँपालिकामा कार्यरत शिक्षा अधिकृतको दुर्घटनामा मृत्यु भएपछि मंगलबार गाउँपालिकामा शोक बिदा दिइएको छ ।

सोमबार शैक्षिक कार्यक्रम सकाएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा सख्त  घाइते भएका शिक्षा अधिकृत केशवराज ओझाको उपचारका क्रममा मृत्यु भएको थियो । 

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझाको मृत्युपछि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताए । 

सोमबार लेकम गाउँपालिका–५ चौपातामा शैक्षिक कार्यक्रम सकेर घर फर्किने क्रममा लेकम गाउँपालिका–४ स्थित गोदालीमा माथिबाट खसेको ढुंगा पिठ्युमा लागेर गम्भीर घाइते अधिकृत ओझाको उपचारका क्रममा मृत्यु भएको हो ।

लेकम गाउँपालिका–४ का स्थानीय समेत रहेका शिक्षा अधिकृत ओझा चौपाताबाट घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । घटनास्थलबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । शिक्षा अधिकृत ओझाको मृत्युले लेकम गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताए । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully