शुक्लाफाँटामा कृष्णसारको संख्या बढेपछि व्यवस्थापनमा चुनौती

बर्दियाको खैरापुर र नेपालगन्जको सदर चिडियाखानाबाट ४२ वटा कृष्णसार स्थानान्तरण गरिएकामा बढेर ३ सय ६ पुगेको छ

वैशाख २२, २०८२

भवानी भट्ट

Number of Krishnasaras in Shuklaphanta Challenges in management after growth

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा एक दशकअघि स्थानान्तरण गरिएका कृष्णसारको संख्या प्रतिदिन बढिरहेको छ । १० वर्षको अवधिमा यहाँ कृष्णसारको संख्या ३ सय नाघेको छ । जसका कारण व्यवस्थापनमा चुनौती बढ्दै गएको छ ।

निकुञ्जको हिरापुर फाँटामा घेरबार लगाएर कृष्णसारलाई राखिएको छ । करिब ६० वर्गकिलोमिटर क्षेत्रमा तारबार लगाइएको छ । सोही क्षेत्रमा चर्नेदेखि आहारा पनि दिने गरिएको छ । ‘इन्क्लोजर (घेरबार) भित्र मात्रै कहिलेसम्म संरक्षण गरिराख्ने ?’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘अब निकुञ्जकै अन्य घाँसे मैदानमा खुला रुपमा स्थानान्तरण गर्ने वा अन्यत्र कतै स्थानान्तरण गर्ने भनेर अध्ययन भइरहेको छ ।’ उनका अनुसार निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न विकल्पमा छलफल तथा अध्ययन गरिरहेको छ ।

बर्दियाको खैरापुर र नेपालगन्जको सदर चिडियाखानाबाट २०१२ र २०१५ मा गरी ४२ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । हाल संख्या बढेर ३ सय ६ पुगेको छ । निकुञ्ज कार्यालयका अनुसार १ सय ४४ पोथी, १ सय १७ भाले र ४५ पाठापाठी रहेका छन् ।

स्थानान्तरण गरिएको केही वर्षमा जुकाका कारण र भालेहरु आपसमै लडेर मर्न थालेका थिए । जसका कारण वृद्धि निकै कम भइरहेको थियो । तर अहिले भने प्रतिदिन संख्या बढ्ने क्रम रहेको छ । जसले संरक्षणकर्मीलाई उत्साहितसँगै व्यवस्थापनको चुनौती पनि थपेको छ । ‘केही संख्या प्राकृतिक बासस्थानमा छाडेर हेर्न सकिन्छ, यसका विषयमा पनि हामीले छलफल गरिरहेका छौं,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘विभागबाट केही निर्णय आएपछि थप अध्ययन गरिनेछ ।’ उनका अनुसार चितवनमै पनि इन्क्लोजरमा पाल्नका लागि विभागमा प्रस्ताव भएको छ । जसका लागि पूर्वाधार पनि निर्माण भइसकेको छ ।

Number of Krishnasaras in Shuklaphanta Challenges in management after growth

अहिले घेरबारभित्र रहेका कृष्णसारलाई थोरैथोरै संख्यामा निकुञ्जका विभिन्न घाँसे मैदानमा प्राकृतिक बासस्थानमा छाड्न सकिने वाग्लेले बताए । उनका अनुसार अहिले घेरबार भएकाले क्षेत्रमै केही खुकुलो पारेर बाहिर र भित्र आउनजान सकिने गरेर पनि व्यवस्थापन गरिने सकिने देखिन्छ । विभिन्न विकल्पमा छलफल भइरहे पनि अहिले नै कुनै निर्णय भने भइसकेको छैन । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पञ्चवर्षीय योजनामा यहाँ रहेका कृष्णसारको व्यवस्थापन विषय समावेश गरिएको छ ।

‘विभिन्न विकल्पमा छलफल चलिरहेको छ, तर अहिले नै यसरी व्यवस्थापन गर्ने भन्ने भइसकेको छैन,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उममहानिर्देशक बेदकुमार ढकालले भने, ‘अहिले आर्थिक स्रोतकै अभावमा अध्ययन र स्थानान्तरण गर्न सकिने अवस्था छैन ।’ उनले अहिलेकै इन्क्लोजरको क्षेत्र बढाउने वा त्यहीँ क्षेत्रमा खुला छाड्ने तथा निकुञ्जकै बर्निखेडा क्षेत्रमा केहीलाई खुला छाड्ने वा अन्यत्र स्थानान्तरण गर्नेलगायत विषयमा छलफल भइरहेको बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully