‘आफ्नै भूमिमा जान भारतको अनुमति लिनुपर्छ । सरकारले नेपालबाटै जाने गरेर बाटो बनाइदिनुपर्यो ।’
दार्चुला — दार्चुलामा बसोबास रहेको व्याँसी सौका समुदायको कुञ्चा (बसाइँसराइ) भारतीय बाटो प्रयोग गरी थातथलो तिर प्रस्तान गरेको छ । व्याँस गाउँपालिका–१ व्याँसमा बसोबास रहेको यो समुदायको कुञ्चा स्वदेशमा पैदल हिँड्ने बाटो नहुँदा भारतीय बाटो प्रयोग गरेको थातथलोतिर जान बाध्य छन् ।
चिसो छल्न गत मंसिरमा बेंसी (सदरमुकाम आसपास) झरेको कुञ्चा गर्मी बढेसँगै हिमालतिर सरेको हो । दुई दशक अघिसम्म स्वदेशकै बाटो प्रयोग गरी हिमाल ओक्लने र झर्ने कुञ्चा पछिल्ला वर्षमा भारतीय बाटो प्रयोग गरेर ओहोरदोहोर गर्ने गरेका छन् । गत साताबाट व्याँस सर्न सुरु गरेका व्याँसीका कुञ्चा अहिले दिनहुँजसो जाने गरेको व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।
केही परिवारका कुञ्चा ब्यासको छाङ्गरु गाउँ पुगेका छन् । केही बाटोमा हिँडिरहेका छन् । र, केही परिवारका कुञ्चा एक/दुई दिनभित्र बेंसीबाट सर्ने तयारीमा रहेको उनको भनाइ छ । व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकर गाउँपालिकामा बसोबास गर्ने व्याँसी सौकाका परिवार बर्सेनि जाडोका महिना बेंसी झर्ने र न्यानो सिजनमा हिमालमा बसोबास गर्ने गरेका छन् । सौका समुदाय गर्मी बढेसँगै सदरमुकाम खंलगाबाट ‘कुञ्चा’ सरेका छन् ।
व्याँस गाउँपालिकाको वडा नम्बर-१ का छाङ्गरुका १४० घरधुरीमध्ये ७५ घरधुरी र तिंकरका ७१ घरधुरी मध्ये ३५ परिवारले बसाइँसराइ गरेका छन् । हिउँदमा व्याँस क्षेत्रमा बाक्लो हिमपात हुने भएकोले व्याँसी सौका समुदायले हिउदका ६ महिना जिल्ला सदरमुकाम खंलगामा र गर्मी यामका ६ महिना आफ्नै थातथलो छाङ्गरु र तिंकर गाउँमा बसोबास गर्ने गरेका छन् । यसरी व्याँसीहरूले बसाइँसराइ गर्नुलाई स्थानीयस्तरमा कुञ्चा सार्ने भनिन्छ ।
भारतीय बाटो प्रयोग गरेर व्याँसीहरूको कुञ्चा छाङ्गरु गाउँ पुग्न ५ दिन र ६ दिनमा तिंकर गाउँ पुग्छन् । व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकर गाउँ जानलाई स्वदेशबाट बाटो नहुँदा भारतीय प्रशासनको अनुमति लिएर मात्र भारतीय मार्ग प्रयोग गर्न पाईन्छ । मानिससंगै पशुचौपाया समेत भारतीय प्रशासन र क्वारेन्टाइनमा अनुमति बनाएर आफ्नो थातथलो जानुपर्ने बाध्यता रहेको तिंकर गाउँका स्थानीय ओमप्रकाश तिंकरीले बताए ।
भारतीय मार्ग प्रयोग गर्न नेपाली स्थानीय प्रशासनको सिफारिसको आधारमा भारतीय पक्षले ६ महिनाका लागि अस्थायी अनुमति पत्र जारी गरेपछि मात्र जाने पाइने उनको भनाइ छ । भारतको बाटोबाट कुञ्चा सार्दा गाईवस्तुको क्वारेन्टाइनसमेत चेक गर्नुपर्ने अर्को बाध्यता रहेको छ । उनले भने, ‘आफ्नै भूमिमा जान भारतको अनुमति लिनुपर्छ । सरकारले नेपालबाटै जाने गरेर बाटो बनाइदिनुपर्यो ।’
व्याँसीहरूले वर्षौंदेखि कुञ्जा सर्दा भारतकै बाटो प्रयोग गर्दै आएका छन् । कुञ्चा ओहोरदोहोर गर्दा ५ दिनका लागि भारतीय मार्ग प्रयोग गरिन्छ । नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलबाट भारत प्रवेश गरेको कुञ्चा पाँचौँ दिनमा व्याँस गाउँपालिका–१ मा नेपाल–भारत जोड्ने सीतापुलबाट नेपाल भित्रिने गर्छ । भारतीय बाटो प्रयोग गर्ने क्रममा पहिलो दिन दोभार, दोस्रो दिन किम्तोला, तेस्रो नज्याङ्, चौथो दिन बुदी र पाँचौँ दिन व्याँसको छाङ्गरु गाउँ पुग्ने तिंकरीले जानकारी दिए ।
नेपाल–भारत जोड्ने सीतापुल नाकाबाट व्याँसी सौका समुदाय भारतको बाटो हुँदै छाङ्गरु र तिंकर पुग्ने छन् । गर्मीयाम सुरु भएसँगै यो समुदायका मानिस बालबच्चा, वस्तुभाउसहित कुञ्चा सरेका हो । व्याँसी सौका समुदायले गाउँ फर्किएपछि तरकारीलगायत बर्खे बाली लगाउने काम सुरु हुन्छ । यहाँका स्थानीय अब कोही खेतीकिसानी, कोही जडिबुटी संकलन र केही मानिस चीनको ताक्लाकोट बजारमा व्यापारका लागि जाने गरेका छन् ।
नेपालतिरबाट बाटो नहुँदा सौका समुदायका मानिस विगतदेखि नै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । भारतीय बाटो प्रयोग गर्दा भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार खेप्नुपर्ने, बाटो प्रयोग अनुमति लिनुपर्ने लगायतका समस्या रहेको व्याँसीहरूको गुनासो छ । सरकारले विगतदेखि नै व्याँसको छाङ्गरु र तिंकरसम्म पुग्ने घोडेटो बाटो निर्माण र मर्मतका लागि लाखौँ बजेट खर्चे पनि व्याँसी वर्षका दुईवटै सिजनमा बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।
