डोटी — बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौ घर भएकी ईसरा बोहराले २३ वर्षपछि अपंगता परिचयपत्र पाएपछि जीवनभरिको खुसी थपिएको बताएकी छन् । बुधबार गाउँपालिकाकी उपाध्यक्ष विष्ना देउवा बमको नेतृत्वमा गएको टोलीले बोहराको घरमा नै गएर ‘क’ वर्गको अपंगता परिचय पत्र वितरण गरेको हो ।
स्थानीय सरकारभित्र रहेका अशक्त, असहाय तथा सेवाबाट बञ्चित रहेकाहरुको खोजतलास गरेर अपांगता परिचय पत्र वितरण लगायतका सेवा दिएको उपाध्यक्ष बमले बताइन् ।
घरमा आएर छोरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै अपंगता परिचयपत्र पाउँदा निकै खुसी लागेको ईसरका बुबा वीरबहादुर बोहराले बताए । लामो समयदेखि अशक्त छोरीको परिचय पत्र बनाएर सहयोग गरेकोमा उनले स्थानीय सरकार लगायतलाई धन्यवाद समेत दिए । परिचय पत्र पाएपछि ईसराले भनिन्, 'मेरो घरपरिवारमा पनि कमाउने कोही छैन । छाक टार्न नै धौ–धौ हुने गर्दछ । अब त भत्ता आउँछ हाम्रो परिवारलाई धेरै सहज हुने छ ।'
यस्तै, सोही गाउँपालिका वडा ४ मा पनि परिचयपत्र वितरण गरिएको छ । त्यहाँकी अम्मी नेपालीले पनि ३० वर्षको उमेरमा अपांगता परिचय प्राप्त गरिन् । उनललाई पाँच वर्षदेखि शरीरको बायाँ भागमा प्यारालाइसिस छ ।
योगेन्द्रबहादुर लुहारले मेरुदण्डको शल्यक्रिया गरेको ३८ वर्ष भयो तर सफल नभएर अशक्त भएका छन् । भक्तेलुहार कामी अहिले ४७ वर्षका भए । उनको दायाँ भागमा ४ वर्षदेखि प्यारालाइसिस भएको थियो । उनले पनि अपांगता परिचय पत्र पाए ।
यस्तै, सोही वडाकै ५० वर्षीय शेरबहादुर कुँवरले पनि 'ख' वर्गको अपांगता परिचय प्राप्त गरे । ६ वर्षकी झर्ना विक कान सुन्दिनन् । उनलाई पनि घरमै गएर अपांगता परिचय वितरण गरको उपाध्यक्ष विष्ना बमले जानकारी दिइन् ।
अपांगता भएका व्यक्तिका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले तथा अपांगता भएका व्यक्तिलाई नेपाल सरकारले २०६५ सालमा अपांगता परिचयपत्रको व्यवस्था गरेको थियो । जुनसुकै उमेरका अपांगता भएका सबै व्यक्तिले आफ्नो जिल्लाको महिला विकास कार्यालयबाट परिचयपत्र पाउने व्यवस्था छ ।
