एमाले अछामको अध्यक्षमा उपाध्याय सर्वसम्मत

वैशाख १७, २०८२

मेनुका ढुंगाना

Upadhyaya is unanimously elected as the president of UML Achham

अछाम — नेकपा एमालेको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिवप्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । वैशाख १३ गतेबाट सुरु भएको अधिवेशन चार दिनसम्म चलेको हो ।

१४ गतेबाट सुरु भएको बन्द सत्रले जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सिना, पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुँवर रहेको अध्यक्ष मण्डलले अध्यक्षमा उपाध्यायलगायत सबै पदाधिकारी र जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित गराएको हो । 

जिल्ला कमिटी अध्यक्षका लागि उपाध्यायसँगै निर्वतमान अध्यक्ष चन्द्र बोहरा र बम बीसी अन्तिम समयसम्म आकांक्षी थिए । बोहरा र बीसीले चुनावमार्फत टुंगो लगाउन निर्वाचन समिति र नेताहरुलाई घच्घच्याइरहेका थिए । तर अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन् ।

जिल्ला उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्ड भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत निर्वाचित भएका छन् । ८५ जना जिल्ला कमिटी सदस्य र सात जना लेखा समितिका पदाधिकारीहरुसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा फुटेपछि एमाले मात्रै तीन टुक्रा भएको र त्यसको असर एमाले पूर्वउपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा परेकाले सर्वसम्मत नेतृत्व चयन गर्नै पर्ने बाध्यतामा नेताहरु थिए । रावल र एमाले अध्यक्ष केपी शर्मा ओलीको द्वन्द्व लामो समयदेखि चलिरहेकाले अछामको अधिवेशन नै करिब डेढ वर्ष प्रभावित भएको थियो । 

एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादी र रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानको प्रभाव सबैभन्दा धेरै अछामको निर्वाचन क्षेत्र नम्बर १ मा परेको छ । एमालेका पूर्वजिल्ला अध्यक्ष एवं सांसद शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका पूर्व नगरप्रमुख कुलबहादुर कुँवर, अहिलेका नगर उपप्रमुख शिलोज कुँवर लगायतका एमालेका नेताहरु नेकपा एसमा गएका थिए ।

हालै मात्रै रावलले घोषणा गरेको मातृभूमि जागरण अभियानमा एमालेका प्रभावशाली नेता प्रकाश शाह, पूर्व प्रदेश सांसद बलबहादुर सोडारी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दुधकला विष्ट, एमालेका बालगिरी कुवँर लगायतका नेताहरु सयौं नेता कार्यकतालाई लिएर अहिले रावलको मातृभूमि जागरण अभियानमा जोडिएका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा अछामका दुइटै निर्वाचन क्षेत्रमा विजयी भएको एमाले २०७९ को चुनावमा दुइटै क्षेत्रमा पराजित भयो । गिरेको शाखलाई जोगाउन पनि एमाले एक ढिक्का भएको देखाउन सर्वसम्मत गर्नु परेको नेताहरु बताउँछन् । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटकालाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन । तीन भागमा टुक्रिएको एमाले अछामलाई बलियो बनाउनका लागि नयाँ नेतृत्वलाई चुनौतीसमेत रहेको छ । 

अछामका दश वटा स्थानीय तहमध्ये मंगलसेन नगरपालिका र तुर्माखाद गाउँपालिकामा मात्रै एमालेले नेतृत्व गरिरहेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा बान्नगढी जयगढ गाउँपालिकामा उपाध्यक्ष र कमलबजार नगरपालिकामा उप्रमुखमा मात्रै विजयी भएको थियो । 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully