डडेल्धुरा — अमरगढी, गन्यापधुरा र भागेश्वर क्षेत्रमा राम्रो उत्पादन हुने मौसमी (जुनार) को भाउ सिजनको भन्दा पाँच गुणाले बढेको छ । असोज–कात्तिकबाट उत्पादन हुने मौसमी बैशाखसम्म बजारमा आउँदा राम्रो मूल्य पाएको हो ।
किसानले रुखमै टिकाएका फल यतिबेला बजारमा ल्याएका हुन् । प्राकृतिक रुपमा रुखमै टिकेका फलको स्वाद मिठो हुने र चाँडै नकुहिने भएकाले यहाँको उत्पादनले राम्रो मूल्य पाएको हो ।
सामान्यतया कात्तिकदेखि फागुनसम्म पाइने मौसमी यतिबेला स्थानीय बजारमै प्रतिकिलो दुई सय रुपैयाँ पुगेको छ । टिप्न सुरु हुने सिजन असोज–कात्तिकमा सामान्यतया किलोको २० देखि ३० रुपैयाँमा बिक्री हुन गर्छ । यतिबेला किसानले बारीमै १ सय ५० रुपैयाँ पाइरहेका छन् । बिगतमा चैतसम्म मुस्किलले पाइने मौसमी यो पटक बैशाखसम्म सहजै पाइरहेको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका बागवानी विकास अधिकृत गोविन्द भट्टले मौसमीको उत्पादन बृद्धिका लागि बगैंचा व्यवस्थापनमा जोड दिएको बताए । बगैंचा सुधार, मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । ‘किसानले फूलफूलेदेखि नै स्याहार गरेका कारण यसपाली उत्पादन अहिलेसम्म टिकेको हो,’ उनले भने ।
यहाँ उत्पादित मौसमी डडेल्धुरालगायत कैलाली, कञ्चनपुरसम्म निर्यात हुने गरेको छ । मल प्रयोग तथा सिँचाइको सुविधा, बोट काँटछाँट र हेरचाह गर्दा राम्रो आम्दानी लिन सकिने गन्यापधुराका किसान लक्ष्मीकान्त ओझाले बताए । उनले सरकारले कृषि प्रविधिमा सहयोग गरे अझै धेरै उत्पादन गर्न सकिने बताए । ‘उत्पादनमा प्रविधिको प्रयोग र भण्डारण प्रणालीको व्यवस्था भए बजारको समस्या पनि छैन । मूल्य पनि राम्रो पाइन्छ,’ उनले भने ।
डडेल्धुरामा ५१० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूलको व्यवसायिक खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा सुन्तला जातका फलफूल वार्षिक ३५० मेट्रिक टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
किसानलाई आधुनिक प्रविधि र जैविक मल प्रयोग, रोग नियन्त्रणका उपाय तथा बजारमा सहज पहुँचको व्यवस्था भए उत्पादन बृद्धि गर्न सकिने ज्ञान केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले बताए । उनले भने, ‘डडेल्धुरामा कतै पनि फलफूलका लागि चिस्यान केन्द्र छैन, किसानले रुखमै फल टिकाएर अहिले बजारमा ल्याए । यो धेरै राम्रो कुरा हो ।’ डडेल्धुराबाट धनगढी, महेन्द्रनगर तथा काठमाडौंसम्म पठाइने भएकाले पनि किसानले राम्रो मूल्य पाउने गरेका हुन् ।
सुन्तला तथा मौसमी खेती स्याहार कार्यक्रम अन्तरगत किसानको खेती बिस्तारका लागि प्राविधिक र अन्य सहयोग गरिरहेको भागेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्रबहादुर साउँदले बताए । ‘हरेक वडामा रहेका कृषि प्राविधिक खेतबारीमै पुग्ने गरेका छौं, किसानले चाहेका बेला प्राविधिक सहयोग त हुन्छ नै । अब प्रविधिमा सहयोग गर्ने योजना पनि बनाइरहेका छौं,’ उनले भने ।
