महेन्द्रनगरमा तरकारी परीक्षण, काँक्रामा अत्यधिक विषादी

वैशाख १६, २०८२

भवानी भट्ट

Vegetable testing in Mahendranagar, excessive pesticide in cucumber

कञ्चनपुर — हामीले दैनिक खाने गरेको तरकारी र फलफूलमा कत्तिको विषादी प्रयोग भइरहेको छ ? धेरैले यसबारे सोचेका पनि हुँदैनन् । तर पछिल्लो सयम छिटो र राम्रो उत्पादनका लागि विषादीको प्रयोग अत्यधिक हुन थालेको छ ।

मंगलबार महेन्द्रनगरस्थित सब्जीमण्डीमा परीक्षण गर्दा हरियो काँक्रामा विषादीको मात्रा अत्यधिक देखिएको हो । कैलालीको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइको सहयोग र कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा परीक्षण गरिएको थियो । काँक्राका नमुना परीक्षणमा उपभोग गर्न नमिल्ने विषादी भेटिएको छ ।

‘नमुना संकलन गरेर परीक्षण गर्दा काँक्रा बिक्री भइसकेको थियो, अब बारीमै होल्ड गरिनेछ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतिले भने, ‘उपभोग गर्न मिल्नेभन्दा धेरै विषादी प्रयोग गरिएको भेटियो ।’ उनका अनुसार ३५ प्रतिशतसम्म विषादी देखिएमा उपभोग गर्न सकिन्छ । तर मंगलबार परीक्षण गरिएको काँक्राका दुई नमुनामा क्रमशः ५३ र ५४ प्रतिशत विषादी भेटिएको हो ।

परीक्षणका लागि काँक्रासँगै काउली, भन्टा, भिन्डी, लौका, करेला, तरबुजा, रायो, सिमी, भेडेखुर्सानी र आलुलगायत १८ वटा तरकारीका नमुना संकलन गरिएको थियो । अन्यमा १ देखि २२ प्रतिशतसम्म विषादी भेटिएको छ । ‘अहिले बजारमा पाइने तरकारी तथा फलफूल अधिकांशमा विषादीकै प्रयोग भएको पाइन्छ,’ ज्ञान केन्द्र प्रमुख सिजापतिले भने, ‘त्यसका लागि बजारबाट लगेर सिधै उपभोग गर्नुहुँदैन, केही दिन पानीमा डुबाएर राख्ने गर्नुपर्छ ।’

३५ प्रतिशतभन्दा कम विषादी भएको फलफूल तथा तरकारी उपभोग योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्मको केही दिन राखेर मात्रै उपभोग गर्न सकिन्छ । तर ४५ प्रतिशतभन्दा बढी प्रतिशत विषादी भेटिएमा नष्ट गर्नुपर्ने हुन्छ । तर सब्जीमण्डीमा ५४ प्रतिशतसम्म विषादी भेटिएको काँक्रा भने धमाधम बिक्री गरिएको छ ।

कञ्चनपुरमा अहिले बगरखेतीसँगै अन्य क्षेत्रमा ठूलो मात्रामा बसन्ते तरकारीको उत्पादन भइरहेको छ । यहाँ काक्रा, लौका, फर्सी, करेला, तरबुजा लगायतको उत्पादन ठूलो मात्रामा हुन्छ । यहाँको उत्पादन महेन्द्रनगरसँगै धनगढी र पहाडी जिल्लातर्फ समेत निर्यात हुने गरेको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully