कञ्चनपुर — पुनर्वास नगरपालिका–९ का ईश्वर बुढाको जमिन गहिरो क्षेत्रमा छ । बर्खामा डुबान हुने र हिउँदमा समेत सिमसार हुने भएकाले धान, गहुँ केही लगाउन मिल्दैन । तर यस पटक उनले धैते धान रोपेका छन् । करिब एक विघामा उनले चैते धान खेती सुरु गरेका हुन् । एउटा बाली पनि भित्र्याउन नपाइने उक्त जमिनमा अहिले खेतीपाती गर्न सकिन्छ । तर बर्खामा असार सुरुमै वर्षा धेरै भएमा फेरि पनि डुबान पर्न सक्ने हुन्छ ।
‘सुरुमै धेरै पानी परे त धान भित्र्याउनै सकिँदैन, खेतमा डुबान भएर कुहिहाल्छ,’ बुढाले भने, ‘यसपटक कस्तो हुन्छ भनेर अलि अलि लगाएको छु, राम्रो भएमा अर्को वर्ष अझै बढाउँछु ।’
बुढाले फागुन पहिलो साता ५ जातका चैते धानको ब्याड राखेका थिए । चैत दोस्रो साता रोपाइँ गरेका थिए । अहिले धान राम्रै सप्रेको छ । अहिले हेर्दा सन्तुष्ट हुन सकिने अवस्था रहेको बुढा बताउँछन् । उनीसँगै गाउँका अन्य किसानले पनि चैत धान रोपेका छन् । ५ कट्ठादेखि एक/डेढ बिघामा रोपाइँ गरिएको बुढा बताउँछन् ।बुढा परोपकारी कृषक समूहका अध्यक्ष पनि हुन् । उनको समूहका आधा बढी किसान चैते धानमा लागेका हुन् ।
पुनर्वास नरगपालिका–२ रामबस्तीका टंकबहादुर तामाङले पनि करिब एक बिघामा चैते धान रोपेका छन् । उनले चार/पाँच वर्षदेखि नियमित रुपमा चैते धानखेती गर्दै आएका छन् । ‘बर्खेभन्दा चैते धानको उत्पादन राम्रो हुन्छ,’ तामाङले भने, ‘बर्खा चाँडै सुरु भएमा धान भित्र्याउन गाह्रो हुन्छ, नत्र खेत पनि बाँझो नरहने, उत्पादन पनि राम्रो हुने ।’ नियमित प्रकाश पर्ने भएकाले उत्पादन राम्रो हुने गरेको हो । कञ्चनपुरमा एक दशकअघि करिब ४ सय हेक्टर बढी क्षेत्रमा चैते धान खेती हुन्थ्यो । भित्र्याउन समस्यादेखि बजारको अभावका कारण कृषकहरु यसतर्फ आकर्षित हुन छाडे । पछिल्लो समय स्थानीय तहदेखि प्रदेश सरकारले विभिन्न किसिमका प्रोत्साहनका कार्यक्रम ल्याएपछि फेरि कृषक यसतर्फ आकर्षित भएका छन् ।
अहिले जिल्लाभरिमा डेढ सय हेक्टरमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउँदले बताए । उनका अनुसार जिल्लाको पुनर्वास नगरपालिकासँगै भीमदत्त, बेलडाँडी र बेलौरी क्षेत्रमा फाटफुट मात्रामा चैते धान उत्पादन भइरहेको छ ।
कृषि ज्ञान केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरुले बिउ, मलखाद, सिँचाइका लागि विभिन्न सहयोगसँगै जोत्ने उपकरण समेत सहयोग गर्दै आएको छ । कृषकहरुकै सहभागितामा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको साउँद बताउँछन् ।
पछिल्लो समय फेरि कृषकहरु चैते धानतर्फ आकर्षित भएपछि भण्डारणदेखि बजारीकरण लगायतमा पनि उनीहरुलाई सहयोग गर्न सके चैते धान उत्पादन अझै बढाउन सकिन्छ । चैत धानको उत्पादकत्व अहिले करिब ४ मेट्रिक टन प्रति हेक्टर रहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा ४८ हजार हेक्टरमा बर्खे धान खेती गरिन्छ ।
