हतकडीसहित धनगढीबाट फरार अभियुक्त भारतबाट पक्राउ परिन्

दुई जना प्रहरी निलम्बनमा

वैशाख १५, २०८२

अर्जुन शाह

Accused who absconded from Dhangadhi with handcuffs was arrested from India

धनगढी — आइतबार प्रहरी नियन्त्रणमा रहेको अवस्थामै हत्कडीसहित जिल्ला सरकारी वकिल कार्यालय कैलालीबाट फरार भएकी अभियुक्त महिलालाई प्रहरीले सोमबार बिहान भारतबाट पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका–१ गणेशपुर शिविरमा बस्दै आएकी ५० वर्षीया मिना शाही दमाई फरार भएकी थिइन् । उनलाई सीमावर्ती भारतको पलियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टका अनुसार सोमबार बिहान उनलाई पलियाबाट पक्राउ गरिएको छ र धनगढी ल्याउन लागिएको छ । प्रहरीले वैशाख ४ गते उनलाई मानव बेचबिखन मुद्दामा ईलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको थियो ।

टीकापुरले म्याद थपका लागि आइतबार सरकारी वकिलको कार्यालयमा ल्याएको थियो । त्यस क्रममा उनी हतकडीसहित फरार भएकी थिइन् । 

घटनामा कमजोरी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना प्रहरीलाई निलम्बन गरेको छ । 

कैलाली प्रहरी प्रमुख एसपी विष्टले भने, ‘ईलाका प्रहरी कार्यालय टीकापुरको सिफारिसमा प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको छ ।’ मिनामाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully