दुर्घटनामा घाइते भएका कांग्रेस नेता शाहलाई लखनउ लगियो

वैशाख १४, २०८२

रञ्जना बिसी

Congress leader Shah, who was injured in the accident, was taken to Lucknow

कैलाली — भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाइते भएका कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई थप उपचारका लागि लखनउ लगिएको छ । परिवारका सदस्यसहित नियमित स्वास्थ्य जाँचका लागि धनगढीबाट दिल्ली जाँदै गरेका शाह चढेको गाडी आइतबार बिहान दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाइतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिएको हो । तर चिकित्सकले शाहको अवस्था खतरामुक्त रहेको बताएका छन् । शाहको लखनउस्थित म्याक्स अस्पतालमा उपचार गरिनेछ । 

खुटारमा दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार जारी छ ।

शाह चढेको गाडी रोडवेजको बससँग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी क्षतिग्रस्त भएको छ । गाडीको अगाडिको सीटमा बसेका कारण शाहलाई बढी चोट लागेको थियो ।

दुर्घटनालगत्तै घटनास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाइतेहरुलाई बाहिर निकालेका थिए । गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाइँ सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाइँको खुटारस्थित अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको जानकारीपछि धनगढीबाट हिँडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।

रञ्जना बिसी

Link copied successfully