संविधान र कानुनअनुसार अधिकार माग्नु पर्दैन : प्रदेश प्रमुख मियाँ

वैशाख १३, २०८२

रञ्जना बिसी

There is no need to ask for rights according to the constitution and law: Provincial Chief Mian

कैलाली — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान र कानुनअनुसार अधिकार माग्न नपर्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानले सबै नागरिकलाई समान हक र अधिकार प्रदान गरेको बताए ।

'संविधानले अधिकार दिएको छ, माग्नु पर्ने होइन । तर कानुनको उचित कार्यान्वयन नहुँदा उत्पीडित वर्ग समस्यामा परेको छ,' उनले भने । 

संविधान निर्माणको क्रममा भोगेका अनुभव सुनाउँदै उनले समाजमा समानता ल्याउन दबिएको मानसिकता हटाउनु पर्ने बताए । उनले विगतमा दलित समुदायलाई भोग्नुपरेका पीडाबारे पनि उल्लेख गरे । 'हाम्रा पालामा हामीलाई स्कुलमा प्रवेश गर्न दिइँदैन थियो । छिटोछिटो ढोकाबाट हालेरभित्र ल्याइन्थ्यो । पशुभन्दा पनि तुच्छ व्यवहार गरिन्थ्यो । तर आज हामी संविधान निर्माण गर्ने तहमा पुगेका छौं,' उनले स्मरण गरे ।

उनले थारु, मधेशी, दलित, जनजाति र मुस्लिम समुदायले उत्पीडित वर्गका मुद्दाका लागि सधैं एक भएर संघर्ष गरेको बताए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले राष्ट्रिय दलित पत्रकार संघले दलित समुदायका मुद्दालाई विशेष रूपमा उठाउनुपर्ने बताए । उनले पत्रकारहरूमाथि भइरहेका आक्रमणको निन्दा गर्दै पत्रकार सुरक्षामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पत्रकार सुरेश भूलको हत्याबारे सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे । उनले सुरेश भूलका छोराछोरीको पढाइको व्यवस्था गर्नुपर्ने माग पनि राखे ।

हिमेश विक प्रदेश अध्यक्षमा सर्वसम्मत

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनले हिमेश विकलाई सर्वसम्मत प्रदेश अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा सुरत सुनार, महिला उपाध्यक्षमा सोधा नेपाली, सचिवमा धनी कोली, सहसचिवमा रवि वड र कोषाध्यक्षमा सरस्वती भूललाई सर्वसम्मत चयन गरिएको छ ।

त्यस्तै, सदस्यहरूमा मिलन नेपाली, सुरेन्द्र संगम, सीता विक, मनिषा सुनार र रवि भूल चयन भएका छन् ।

रञ्जना

Link copied successfully