अछाम — अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
बिहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगोले क्षणभरमै आसपासका पसलहरूलाई पनि चपेटामा लियो ।
विद्युत्को तार सर्ट भएर सल्किएको आगोले होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्।
आगलागीपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर वारूणयन्त्र (दमकल)को अभावले आगो नियन्त्रणमा ढिलाई भएको हो ।
अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएको र डोटीबाट मगाउँदा ढिलो भएकाले आगो समयमै नियन्त्रणमा आउन नसकेको हो ।
‘मानविय क्षति भएको छैन । १० पसल जलेर नष्ट भएका छन । क्षतिको मूल्यांकन भइरहेको छ,’ उनले भने, ‘धेरै टीनका टहरा जलेका छन् । डोजर लगाएर केही पसल भत्काएपछि आगो नियन्त्रणमा आयो ।’ क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले उनले बताए ।
यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो । उक्त घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुँदा ८ करोड बढीको क्षति भएको थियो ।
करोडौको क्षति र दर्जन बढी नागरिकको उठिबास हुने गरि जयगढ आगलागी भएको महिना दिन नबित्दै जिल्लाभित्रै अर्को आगलागीको घटना हुँदा स्थानीयमा त्रास फैलिएको छ ।
