एमाले अछामको अधिवेशन भोलिदेखि, भीम रावल 'फ्याक्टर'ले प्रभाव पार्न सक्ने

तीन भागमा विभाजित एमालेलाई बलियो बनाउन सर्वसम्मत नेतृत्व चयन गर्नैपर्ने दबाबमा नेताहरू

वैशाख १२, २०८२

मेनुका ढुंगाना

UML Achham convention from tomorrow, Bhim Rawal 'factor' could influence

अछाम — नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टीमा रहने या नरहने भन्ने विवादले करिब डेढ वर्ष पछाडि धकेलिएको एमालेको अछाम जिल्ला अधिवेशन शनिबार हुने निश्चित भएको छ । यतिखेर अछामका ९१ वटै वडा र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिको सदरमुकाममा चहलपहल बढिरहेको छ । 

रावललाई पार्टीबाट निकालेपछि उनी कित्ताका नेता-कार्यकर्ता पनि मातृभूमि जागरण अभियानसँग जोडिएका छन् । रावल निकट एमालेका नेता-कार्यकर्ताको ‘कित्ताकाट’ भएपछि जिल्ला अधिवेशन हुन लागेको हो । एमाले र रावलबीचको द्वन्द्व लामो समयसम्म चलिरहँदा जिल्लास्थित धेरै नेता-कार्यकर्ता अन्योलमा रहेका थिए ।

नेकपा फुटपछि तत्कालीन एमालेका धेरै नेता एकीकृत समाजवादीमा जाँदा नै क्षति बेहोरिहेको अछाम एमाले यतिबेला थप संकटमा छ । विषेशगरी रावलको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेको नेतृत्व गर्नेहरु नै फरकधारमा उभिएपछि एमाललेलाई झट्का लागेको छ । उसो त अछाम एमालेले नेकपा फुटपछि नै ठूलो क्षति बेहोर्नुपर्‍यो । एमालेका पूर्व जिल्ला अध्यक्ष एवं सांसद शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका पूर्व नगरप्रमुख एवं तत्कालीन एमालेका प्रभावशाली नेता कुलबहादुर कुँवरलगायत माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाँदा अछाम क्षेत्र नम्बर १ ले नै क्षति बेहोर्नुपरेको थियो ।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दूधकला विष्ट, एमालेका प्रभावशाली नेता प्रकाश शाह, बालगिरी कुँवर लगायतका नेता सयौं नेता-कार्यकतालाई लिएर अहिले रावलको मातृभूमि जागरण अभियानमा जोडिएका छन् ।

यसअघि नै नेकपा समाजवादीमा एमालेका थुप्रै नेता-कार्यकर्ता गइसकेकाले विवाद नहुने गरी सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुले प्रयास गरिरहेका छन् । तीन भागमा टुक्रिएको एमाले अछामलाई बलियो बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नैपर्ने दबाबमा नेताहरु छन् । तर सर्वसम्मतको नाममा नेताका निकटका मान्छे मात्रै अटाउने अवस्था आएमा रुष्ट नेता-कार्यकर्ता भीम रावलतिर जान सक्ने डर पनि एमाले नेतृत्वलाई छ । अछाम इन्चार्ज झपट बोहरा, यज्ञ बोगटी र कमल तिमिल्सैना गरी तीन जना केन्द्रीय सदस्य सर्वसम्मत नेतृत्व चयनका लागि तयारी गरिरहेका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा अछामका दुईवटै निर्वाचन क्षेत्रमा विजयी भएको एमाले २०७९ को चुनावमा दुवैमा पराजित भयो । गिराएको साख जोगाउन पनि एमाले अछाम कसरतमा छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटकालाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन ।

नेतृत्वमा रस्साकस्सी
अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको एमाले अछाम नेतृत्व चयनमा रस्साकस्सी चलिरहेको छ । शनिबार हुने अधिवेशन उद्घाटनका लागि केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट अछाम आइपुगेका छन् । नेकपा फुटपछिको पहिलो एमाले अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका चन्द्र बोहराले फेरि अध्यक्षमा दोहोरिने संकेत दिइरहेका छन् । अप्ठ्यारो अवस्थामा पार्टीको नेतृत्व गरेका बोहरालाई अहिले पनि बलियो उम्मेदवारको रुपमा हेरिन थालिएको छ । उनी एमाले अध्यक्ष ओली निकटका नेताका रुपमा पनि चिनिन्छन् । 

यसअघिको अधिवेशनमा ओलीका तर्फबाट जिल्ला अध्यक्षको उम्मेदवार बोहरा र रावलका तर्फबाट प्रकाश शाह चुनावी मैदानमा थिए । ‘एकातिर भीम रावल र उनका कार्यकर्ताको असहयोग अर्कोतिर एमाले फुटेर समाजवादीमा गइसकेको विषम परिस्थितिमा चन्द्र बोहराले पार्टी बचाएका हुन् । उतारचढावबीच उनको पहिलो कार्यकाल सकियो, अब एमाले एक ढिक्का छ । सहज अवस्थामा उनलाई फेरि एकपटक जिम्मेवारी दिनुपर्छ,’ एमालेका उच्चस्तरका एक नेताले भने, ‘जिल्लादेखि केन्द्रसम्मको नेतृत्व पनि उनीदेखि सन्तुष्ट देखिन्छ । चुनाव नै भए पनि बोहराले जित्ने आकलन छ ।’ जिल्ला अध्यक्षका लागि लबिङ गरिरहेका अर्का बलियो उम्मेदवारका रुपमा पूर्व प्रदेश कमिटी सदस्य एवं अछामका प्रभावशाली नेता शिवप्रसाद उपाध्याय पनि छन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा क्षेत्र नं २ (ख) बाट प्रत्यक्षतर्फका उम्मेदवार उनी जसरी पनि जिल्ला नेतृत्व लिने तयारीमा रहेका छन् ।

जिल्ला अध्यक्ष पदका लागि चर्चित नाममध्ये एक हुन्, हालका जिल्ला सचिव रहेका भीम रावल ‘कालोटोपी’ । विद्यार्थी राजनीतिबाट उदाएका रावलले युवामाझ लोकप्रियता बढाउँदै आएका छन् । सबै पक्षलाई समेटेर लैजान सक्ने नेतृत्व क्षमताका कारण उनले आफूलाई सशक्त उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।

‘पार्टीमा युवा पुस्ताको नेतृत्व स्थापित गर्न, आन्तरिक एकतालाई मजबुत बनाउन र रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न आवश्यक छ,’ रावलले भने ।

जिल्ला अध्यक्षको अर्का उम्मेदवारका रुपमा हिरेन्ड भट्टराईले पनि तयारी गरिरहेका छन् । उनी माधव नेपालको नेकपा समाजवादीमा थिए । एक वर्षअघि उनी एमालेमा फर्किएका हुन् । 

बम बहादुर बीसी, तिलक कुवँर, डीबी साउदले समेत जिल्ला अध्यक्षका लागि दाबी गरेका छन् । १५ गतेसम्म चल्ने अधिवेशनमा ७ सय ५० भन्दा बढी प्रतिनिधिले भाग लिनेछन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully